बाँकेमा छन् बाघ, हेर्न आउँदैनन् कोही

निकुञ्जभित्र बनाइएको सोलारसहितको पानीपोखरी ।

नेपालगञ्ज – बाघको संरक्षणका लागि बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरियो । २०६७ असार २८ गते स्थापना भएको निकुञ्जमा छोटो समयमै करिव दुई दर्जन बाघ पुगेको छ ।
सन् २००९ मा चार वटा बाघ रहेको निकुञ्जमा अहिले २१ वटा छन् । सन् २०१८ मा गणना गर्दा २१ वटा देखिएका हुन् । अझै बढेको आकलन गरिएको छ । बाघ संरक्षणका लागि बासस्थान, आहारा प्रजातीको व्यवस्थापन, पानीपोखरी र घाँसे मैदान निर्माण गरिएको छ । चुनौतीको रुपमा रहेको चोरी शिकारी नियन्त्रणको अधिक प्रयास भएको छ ।
निकुञ्ज ५ सय ५० वर्गकिलोमिटरमा फैलिएको छ । ३ सय ३० वर्गकिलोमिटर मध्यवर्ती क्षेत्र पर्दछ । बाँके, दाङ र सल्यान जिल्लालाई छोएको निकुञ्जमा बाघसँगै लोपोन्मुख वन्यजन्तु चौका प्रशस्त रहेका छन् ।
बाघ हेर्नलाई संसार नै लालायित छ । बाघ भएका निकुञ्जमा पर्यटकको घुइँचो लाग्ने गर्दछ । बाँके राष्ट्रिय निकुञ्जको हकमा त्यो लागु भएको छैन । निकुञ्जमा अलिकति सफारी गर्ने वित्तिकै बाघ देखिने गरेको भुक्तभोगीहरु बताउँछन् । गाभर होमस्टेका सञ्चालक कृष्ण चौधरीले बाँके राष्ट्रिय निकुञ्जमा बाघ हेर्नका लागि लामो यात्रा गर्न नपर्ने बताउनुभयो । ‘आएका पर्यटकले छोटो यात्रामै बाघ देखेर खुशी भएका छन्, चौधरीले भन्नुभयो, त्यसका बाबजुद प्रचार प्रसार हुन नसक्दा पर्यटकको रोजाई बन्न सकेको छैन ।’
बाँके राष्ट्रिय निकुञ्ज नेपालगञ्ज शहरदेखि नजिकै रहेको छ । नेपालगञ्जमा पर्यटकलाई केन्द्रमा राखेर ठूल्ठूला होटल बनेका छन् । मानसरोबर, रारा, से फोक्सोण्डो, स्वर्गद्वारी, बर्दिया राष्ट्रिय निकुञ्ज जाने पर्यटकहरु नेपालगञ्ज भएर जाने गर्दछन् । यी ठाउँमा जाने पर्यटकको सेडुलमा बाँके राष्ट्रिय निकुञ्ज पर्ने गरेको छैन । नेपालगञ्ज भएर यस क्षेत्रका विभिन्न पर्यटकीय क्षेत्रमा जाने पर्यटकलाई बाँके राष्ट्रिय निकुञ्जमा एक दिनमात्रै होल्ड गराउन सकेमा यहाँको पर्यटकीय विकासमा टेवा पुग्ने पर्यटन प्रवद्र्धन मञ्च, बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।
बाघ बढ्दै गर्दा मानिसको टकराव बढेको छ । बाघलाई बढाउनु जति चुनौती रहेको छ, त्यति नै चुनौती त्यसलाई बचाउनु रहेको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेले वन्य जन्तु संरक्षणका लागि घाँसे मैदान, पानीपोखरी, वनपथ, तारबार, अग्नी रेखा निर्माण, पोष्ट स्थापना गरेको जानकारी दिनुभयो । निकुञ्जको लागि सधैंको चुनौती बन्ने गरेको चोरी शिकारी नियन्त्रण, मानव वन्यजन्तु टकराव, राजमार्ग तथा सिक्टा नहरमा जनावरको दुर्घटनालाई रोक्न लागि परेको सहायक संरक्षण अधिकृत न्यौपानेले बताउनुभयो । सडक दुर्घटना र नहरमा डुबेर ६८ वटा जनावरको मृत्यु भएको छ भने २९ वटा वन्यजन्तुको उद्धार गरिएको छ ।
सरकारले सय वटा पर्यटकीय क्षेत्र घोषणा गर्दा यो निकुञ्ज ५७ नम्बरमा परेको छ । पर्यटकीय क्षेत्रमा परेपनि पर्यटकको नजर परिसकेको छैन । अहिलेसम्म यहाँ थोरैमात्रै विदेशी पर्यटकले अवलोकन गरेका छन् । आन्तरिक पर्यटकको रोजाई बन्न थालेको छ । निकुञ्जमा हात्तीसफारीको व्यवस्था रहेको छ । यस क्षेत्रमा प्रायः भारतीय पर्यटक आउने गर्दछन् । नेपालगञ्ज मुख्य प्रवेशद्वार मानिन्छ । भारतीय शहरहरुमा निकुञ्जको प्रचार प्रसार गराउन सकेमा पर्यटक बढ्ने विश्वास गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !