चर्किदै नर्सिङहोमको आन्दोलन

नेपालगञ्ज – नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीको आन्दोलनले चर्को रुप लिदै गएको छ । साउन एक गतेदेखि शुरु भएको आन्दोलनमा एक्यबद्धता बढ्दै गएको छ ।
तीन महिनादेखि तलव नपाएको, नाइट तथा जोखिम भत्ता, कोभिड जोखिममा काम गर्दाको खाजा भत्तासमेत नपाएको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मीले पारिश्रमिकका लागि नेपाल मेडिकल काउन्सिल, श्रम कार्यालय र जिल्ला प्रशासन कार्यालय, बाँकेमा समेत पत्राचार गरिसकेका छन् ।
नेपालगञ्ज मेडिकल कलेजकी नर्सिङ अधिकृत सुमन गिरी श्रेष्ठले तीन महिनासम्म पनि तलव नपाएपति स्वस्फूर्त आन्दोलन शुरु भएको बताउनुभयो । ‘हाम्रा पनि बालबच्चा छन् । घरपरिवार चलाउनु पर्छ । मेडिकल कलेज प्रशासनले त्यो बुझेन, नर्सिङ अधिकृत श्रेष्ठले भन्नुभयो, कहिलेसम्म भोको पेटमा बस्ने ? बाध्य भएर आन्दोलनमा उत्रिनु परेको छ ।’ उहाँले स्कूलले तत्काल बच्चा भर्ना गर्न भनेपनि तलव नपाउदा बच्चाको भर्ना गर्न नसकेको बताउनुभयो ।
कर्मचारीहरु मेडिकल कलेजभित्रै नाराबाजी गर्दै बसेका छन् । मेडिकल कलेज प्रशासनले चार दिन हुँदासम्म कर्मचारीको आन्दोलनमा आँखा चिम्लिएर बसेको छ ।


error: यो सुविधा उपलब्ध छैन !