धान रोपेको खेतमा धाजा

नेपालगञ्ज – लामो समयदेखि पानी नपर्दा बाँकेमा रोपेको धान सुकेको छ ।
जिल्लामा असार सकिदा ८५ प्रतिशतमात्रै रोपाई भएको छ । १५ प्रतिशत रोपाई हुन बाँकी रहेको छ ।
करिव तीन सातादेखि पानी नपर्दा बाँकेमा रोपेका धान सुकेको हो । धान रोपेको गरामा धाजा फाटेको छ । लामो समयदेखि पानी नपर्दा किसान चिन्तित भएका छन् ।
कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सागर ढकालले असार सकिदा ८५ प्रतिशत रोपाई भएको जानकारी दिनुभयो । उहाँले लामो समयदेखि पानी नपर्दा कृषिमा नराम्रो असर परेको बताए । ‘यसपाली असार शुरुवातमै राम्रो पानी परेको थियो । किसानले बिउ राख्न र रोप्न समेत पाए । त्यसपछि पानी पर्न रोकियो, ढकालले भन्नुभयो, अहिले खेत सुकिसकेको छ । धान मर्न थालेका छन् ।’
बाँकेमा केही दिनभित्रै पानी परेन भने ठूलो भूभागमा लगाइएको धान सुक्ने अवस्था आएको छ । त्यसमा १५ प्रतिशत रोपाई हुन बाँकी नै रहेको छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख ढकालले रोपेको धानमा गाँज हाल्ने र बढ्ने बेलामा पानी नपरेकाले उत्पादनमा समेत असर पर्ने बताउनुभयो । बाँकेमा प्रतिहेक्टरमा ४.३ मेट्रिक टन धान उत्पादन हुँदै आएको छ ।
बाँकेमा ३६.५ हेक्टरमा धान उत्पादन हुने गर्दछ । सिक्टा सिंचाई आयोजनाले पश्चिम नहरमा पानी छोडेकाले त्यस भेगका किसानले पानी पाएका छन् । अझै सबै ठाउँमा पानी पुग्ने गरी छोडिएको छैन । सिक्टा नहर पूर्णरुपमा सञ्चालन हुँदा बाँकेको ४२ हजार हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुग्ने सम्बद्धहरु बताउँछन् ।


error: यो सुविधा उपलब्ध छैन !