कांग्रेस बाँके : ‘साइलेन्ट भाइब्रेसन’
बसन्तकुमार उपाध्याय (नेपालगञ्ज) – नेपाली कांग्रेस बाँके महाधिवेशन केन्द्रित ‘साइलेन्ट भाइब्रेसन’मा छ ।
नेपाली कांग्रेसको महाधिवेशन जति–जति नजिकिंदै छ, त्यति–त्यति आन्तरिक भेटघाट र छलफलहरु तिव्र भइरहेका छन् ।
जिल्लामा पुराना समीकरण भत्किने र नयाँ समीकरणका प्रयास भइरहेकाले पनि बाँके यतिबेला साइलेन्ट तर भाइब्रेसनमा छ । समूह–समूहका नेताहरुबीच गोप्य भेटघाट तथा छलफल चलिरहेका छन् ।
नेपाली कांग्रेसको महाधिवेशन नजिंकिंदै गर्दा कुनैबेला केन्द्रिय सभापति पाएको गृह जिल्लाका रुपमा रहिसकेको बाँके पनि तरिगंत भइरहेको छ ।
कांग्रेस बाँकेको नेतृत्वका विषयमा समूहगत छलफलहरु तिब्र भइरहेका छन् । बाँके कांग्रेसको क्षेत्र नं. १ को विवाद भने यथावतै रहेको बुझिन्छ । यसबीच बाँकेमा संस्थापन इतर पक्ष अर्थात पौडेल–कोइराला पक्ष घनिभुत रुपमा छलफल र भेटघाटमा जुटेको छ । बाँकेमा पूर्व सभापति स्व.सुशील कोइरालाको परिवार नेतृत्वमा छ । यो परिवार केन्द्रिय राजनीतिको शक्तिका रुपमा स्थापित छ । यतिबेला किरण कोइरालाले बाँके कांग्रेस नेतृत्व गरिरहँदा केन्द्रका सबै समूहले बाँकेमा नेतृत्व विषयमा चासो देखाइरहेको बुझिन्छ । पूर्व सभापति स्व.कोइरालाको निर्वाचन क्षेत्र समेत रहेको नेपालगञ्ज उपमहानगर र क्षेत्र नम्बर २ को नेतृत्वका आकांक्षीहरु क्रमशः आ आफ्नो उम्मेद्वारीको दावी गरिरहेका छन् ।
नेपाली कांग्रेसको लुम्विनी प्रदेश प्रमुखका आकांक्षी पूर्व राज्यमन्त्री अमर पुन बाँकेमा छलफल गरेका छन् । यो प्रेदशमा संस्थापन इतर समूह बलियो रहेको पुनको बुझाई छ । उनी भन्छन्, ‘१२ जिल्ला मध्ये १० जिल्ला सभापति हाम्रै पक्षका छौं, त्यसैले पनि मेरो सभापतिमा दावेदारी बलियो छ ।’
त्यसैगरी नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष महेन्द्र शर्मा केही दिनदेखि बाँकेमा पार्टीको आन्तरिक समीकरण निर्माणको काममा नेपालगञ्जमा खटिएका छन् । २०६२ सालमा नेविसंघ सभापति रहिसकेका शर्माको देशभरी ‘आफ्नो नेटवर्क’ रहेको भनाई छ । पौडेल–कोइराला टिममा रहेका शर्मा नेपालगञ्ज सहित लुम्विनी प्रदेशमा विशेष दखल राख्ने युवा अनुहार हुन् ।
लुम्विनी प्रदेश प्रमुखमा संस्थापनबाट पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कंडेल आकांक्षी रहेको बुझिन्छ ।
सभापति शेरबहादुर देउवा निकट मानिने केन्द्रिय सदस्य किशोर सिंह राठौर सुशील कोइरालाको देहान्त पछि ‘बाँके’ केन्द्रित भएर राजनीतिमा अघि बढिरहेको बुझिन्छ । तर केन्द्रिय सदस्य राठौरबाट संस्थापन पक्ष भित्रकै जिल्ला तहका पहिलो र दोस्रो तहका नेताहरु असन्तुष्ट रहेका छन् । त्यसैले आन्तरिक रुपमा समूह मिलाउने प्रयास भइरहेको बुझिन्छ ।
केन्द्रमा विमलेन्द्र निधिले सभापतिमा उम्मेद्वारी दिने चर्चासँगै बाँकेमा पनि निधि समर्थकका पक्षबाट समेत सभापतिमा उम्मेद्वारी पर्न सक्ने सम्भावना उत्तिकै रहेको छ । कारण हो ‘मधेश’ फ्याक्टर ।
पूर्व सासंद बादशाह कुर्मी, उपसभापति सुनिलनरसिंह राणा, ज्ञानु केसी, राजकुमार बर्मा, निरञ्जनसिंह सिजापति, नारायण गौंडेल, लक्षमीनारायण शाह सहितका नेताहरु बाँकेमा सभापतिका आकांक्षीहरु हुन् ।
बाँके कांग्रेस नेतृत्वका आकांक्षीमध्ये पूर्व सासंद कुर्मी संस्थापन पक्षका अनुहार हुन् । त्यसैगरी उपसभापति राणा सभापतिको उम्मेद्वारीमा उनका नाममा समीकरणको प्रयास भइरहेको चर्चा छ ।
त्यसैगरी लामो समय कोइराला समूहमा रहेर राजनीति गरेका निरञ्जनसिंह सिजापति गएको अधिवेशनमा देउवा समूहका तर्फबाट सभापतिका उम्मेद्वार रहिसकेका नेता हुन् । २०७४ सालमा उनी प्रदेश सभामा उम्मेद्वार थिए । साथै लक्ष्मी नारायण शाह गएको जिल्ला अधिवेशनमा सभापति र प्रदेश सभामा लडेका चेहेरा हुन् । र, नारायणप्रसाद गौंडेल गएको अधिवेशनमा तेस्रो धार सिटौला पक्षबाट जिल्ला सभापतिमा भिडेका थिए । यतिबेला उनै गौंडेल संस्थापन इतरका तर्फबाट उम्मेद्वार हुन सक्ने सम्भावना रहेको समेत बुझिन्छ ।
यतिबेला बाँके कांग्रेसमा नेतृत्वका लागी केन्द्रिय समीकरण अनुसार समीकरण बनाउने प्रयास भइरहेको बुझिन्छ । त्यसका अलावा वडा, नगर र क्षेत्रको अधिवेशन पहिले नेता तथा कार्यकर्ताहरु आफु सुरक्षित रहन चाहेकाले ‘साइलेण्ट’ देखिन्छन् ।
यसरी कुनैबेला केन्द्रिय सभापति पाएको बाँके जिल्ला महाधिवेशनको संघारमा केन्द्रिय नेतृत्वविहीन भएपनि ‘साईलेण्ट भाइब्रेसन’को मोडमा छ ।