साउनदेखि सबै वडामा नसर्ने रोगको सेवा दिइने
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाको २३ वटै वडाबाट साउनदेखि नसर्ने रोगको जाँच हुने भएको छ ।
उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले साउनदेखि २३ वटै वडाबाट नसर्ने रोगको बारेमा जानकारी र सेवा दिइने बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाले आयोजना गरेको अन्तरक्रियामा स्वास्थ्य प्रमुख चन्दले नसर्ने रोगका कारण धेरैको मृत्यु हुन थालेपछि सरकारले प्राथमिकतामा राखेर काम गर्न थालेको बताउनुभयो ।
वडाबाट नै सुगर, प्रेसर जाँच, पिसावमा प्रोटिन लेबल, पिसावमा ग्लुकोज लेवल जाँच गर्ने तयारी भएको छ ।
स्वास्थ्य सेवा विभागको २०७५÷७६ को रिपोर्ट अनुसार, अस्पतालमा भर्ना भएका मध्ये ९२ प्रतिशत विरामी नसर्ने रोगका हुने गरेका छन् । अस्पतालमा भर्ना भएर मृत्यु हुनेमा ९३ प्रतिशत नसर्ने रोगका विरामी रहेका छन् ।
नेपालमा मुटु तथा रक्तनली सम्बन्धी रोगबाट ३० प्रतिशत, क्यान्सरबाट नौ प्रतिशत, दमबाट १० प्रतिशतको मृत्यु हुने गरेको छ ।
सर्ने रोगबाट भन्दा नसर्ने रोगबाट धेरैको मृत्यु हुन थालेको तथ्यांकले देखाएको छ । विशेष गरेर मुटु, मधुमेह, दम र क्यान्सरबाट मृत्यु हुने गरेको छ । रहनसहन र खानपानले यी रोगलाई बढावा दिइरहेको छ ।
उपमहानगरपालिकाले कार्यक्रममा सहभागी भएका पत्रकार, शिक्षकलगायतको प्रेसर, सुगर जाँच गरेको थियो ।