राप्तीसोनारीको बजेट अधिवेशन २९ गतेसम्म स्थगित

नेपालगञ्ज – राप्तीसोनारी गाउँपालिकाको नवौ गाउँ सभा-बजेट अधिवेशन २९ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबार केहीबेर चलेर बजेट अधिवेशन स्थगित भएको हो ।
पालिकाले पठाएको बजेट सिलिङभित्र रहेर वडाहरुले योजना छनौट गर्न समय लागेपछि बजेट अधिवेशन एक हप्ता पर सारिएको छ ।
असार १० गते पालिकाको नवौ गाउँ सभा-बजेट अधिवेशन उद्घाटन गरिएको थियो । त्यसलाई २२ गतेलाई सारिएको थियो । वडाहरुले अझै केही समय माग गरेपछि अधिवेशन २९ गतेलाई सारिएको छ ।
मंगलबार चलेको अधिवेशनमा करका विषयमा छलफल भएको थियो । बोल्ने अधिकांश वक्ताले कर नबढाउन आग्रह गरेका थिए । गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले समग्रमा कर नबढाइएको बताउनुभयो । अधिवेशन एक हप्तालाई सार्दै अध्यक्ष थारुले भन्नुभयो, ‘गाउँटोलमा छिरेर योजनाहरु ल्याउनुस् ।’
वडा नं. ७ का अध्यक्ष रामलखन थारु, वडा सदस्यहरु टीकाराम बस्नेत, जीतबहादुर थारु, रामलौटन थारुलगायतले जिज्ञासा र सुझाव राख्नु भएको थियो ।
पालिकामा ८२ करोड बढीको बजेट प्रस्तुत भएको छ । वडाहरुलाई दुई करोडसम्मका सिलिङ दिइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !