राप्तीसोनारीमा पालिका टुक्राउने प्रस्ताव

नेपालगञ्ज – राप्तीसोनारी गाउँपालिकाका जनप्रतिनिधिले राप्तीसोनारीलाई दुई वटा पालिका बनाउनु पर्ने माग राखेका छन् ।
गाउँपालिकाको गाउँ सभामा बहुमत वडाध्यक्षहरुले राप्तीसोनारीलाई दुई वटा पालिका बनाउनु पर्ने माग राखेका हुन् ।
राप्तीसोनारीलाई दुई वटा पालिका बनाउनु पर्ने प्रस्ताव वडा नं. ७ का अध्यक्ष रामलखन थारुले गर्नु भएको थियो । त्यस प्रस्तावलाई वडा नं. ६ का अध्यक्ष जनक थारु, ५ का अध्यक्ष झगरु थारु, ८ का अध्यक्ष खुमबहादुर बस्नेत र ९ नम्बर वडाका अध्यक्ष महावीर वलीले समर्थन गर्नु भएको थियो ।
राप्तीसोनारीमा ९ वटा वडा रहेका छन् । त्यसमध्ये ५ जना वडाध्यक्षले राप्तीसोनारीलाई दुई वटा पालिका बनाउनु पर्ने माग राखेका हुन् ।
राप्तीसोनारीलाई दुई वटा पालिका बनाउनु पर्ने प्रस्ताव गर्नु भएका ७ नम्बरका वडाध्यक्ष रामलखन थारुले ठूलो क्षेत्र ओगटेको राप्तीसोनारीबाट सेवाग्राहीले सेवा लिन गाह्रो भइरहेकाले यसलाई दुई वटा पालिका बनाउनु पर्ने बताउनुभयो ।
राप्तीसोनारीमा राप्ती पारी र वारीका वडाको छुट्टा छुट्टै पालिका बनाउनु पर्ने माग उठिरहेको छ । राप्ती पारी ३, ४, ५, ६ र ७ नम्बर वडा पर्छ । वारी १, २, ८ र ९ नम्बर वडा पर्छ । राप्ती पारीलाई सोनारी र वारीलाई राप्ती गाउँपालिका बनाउनु पर्ने प्रस्ताव गरिएको छ ।
ठूलो भूगोल भएको राप्तीसोनारीलाई नगरपालिका बनाएर जाने कि भन्ने प्रस्ताव गाउँपालिकाका अध्यक्ष लाहुराम थारुको थियो । वडाध्यक्षहरुले यो प्रस्तावलाई समर्थन गरेनन् । नगरपालिका भएपनि सेवा दिने ठाउँ अहिलेकै जस्तो हुने भएकाले जनतालाई खासै सुविधा नहुने वडाध्यक्षहरुको भनाई थियो । गतवर्षको गाउँ सभाले नगरपालिका बनाउने प्रस्ताव गरेको थियो । त्यो भने कार्यान्वयन हुन सकेन ।


error: यो सुविधा उपलब्ध छैन !