राप्ती नदीमा बाढीको कृत्रिम घटना अभ्यास
नेपालगञ्ज – बाँकेको राप्ती नदीमा शुक्रबार बाढीको कृत्रिम घटना अभ्यास गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रसको सहभागितामा सिधनियाघाटमा बाढीको कृत्रिम घटना अभ्यास गरिएको हो । यहाँ वर्षेनी नै बाढीको कृत्रिम घटना अभ्यास गर्ने गरिन्छ ।
राप्ती नदीले वर्षेनी जिल्लाको तटीय क्षेत्रमा डुवान, कटान र पटान गर्ने गर्दछ । जिल्ला विपद् व्यवस्थापन समितिले बाढीबाट यो वर्ष १० हजार घरपरिवारका ५० हजार मानिस प्रभावित हुन सक्ने आकलन गरिसकेको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टीमले डुवान पीडितको उद्धारको अभ्यास गरेका थिए । डुवानमा परेका केही व्यक्तिको उद्धार गरिएको थियो । बेपत्ता भएका व्यक्तिको गोताखोरले खोजेर शव निकालेका थिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बाढी आउदा खोज र उद्धार कार्यलाई कसरी गर्न सकिन्छ भनेर कृत्रिम अभ्यास गरेको बताउनुभयो ।
कार्यक्रममा नेपाली सेनाका सहायक रथी हरेन्द्र पाठक, प्रमुख सेनानी नकुल थापा, सशस्त्र प्रहरीका एसपी अशोक बम, अनुसन्धानका उपनिर्देशक नरेन्द्र गिरी, रेडक्रसका जिल्ला सभापति गोवद्र्धन सिंह सम्झना, जल तथा मौसम विभाग कोहलपुरका प्रमुख विनोद पराजुलीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले गर्नु भएको थियो ।