भेरीमा कोरोनाबाट थप दुई जनाको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरीमा उपचार गराउन आएका बर्दिया र रोल्पाका संक्रमितको आज विहान मृत्यु भएको हो ।
बर्दिया बारबर्दिया नगरपालिका वडा नं. ७ का ५२ वर्षीया महिलाको विहान ५ बजे मृत्यु भएको छ । जेठ २७ गते पीसीआर गरिएका उनलाई २८ गते भर्ना गरिएको थियो ।
रोल्पा नगरपालिका वडा नं. ४ का ६० वर्षीय पुरुषको विहान ८ बजे मृत्यु भएको छ । जेठ १५ गते रोल्पामा पीसीआर गरिएका उनलाई २२ गते भेरीमा भर्ना गरिएको थियो ।
योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउदा ३ सय ५६ जनाको मृत्यु भइसकेको छ ।
कोरोनाबाट मृत्यु हुने क्रम अझै रोकिएको छैन । यद्यपि, यो क्रम घट्दै गइरहेको छ । कोरोनाको संक्रमण दर घटेको छ । परीक्षण गर्न आउने घटेका छन् । अस्पतालका बेडहरु ८८ प्रतिशत खाली भइसकेका छन् ।
बाँकेमा पछिल्लो पटक १ सय २९ जनाको जाँच गर्दा १० जनामा कोरोना भएको छ । त्यसमा बाँकेको तीन जना परेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !