नेपालगञ्जमा चक्रपथ विस्तारका लागि पहल गरिने

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७८-७९ मा चक्रपथ विकासका लागि आवश्यक पहल गर्ने भएको छ । नगरसभामा बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख डा. धवलशमशेर राणाले भौतिक पूर्वाधार विकासमा प्राथकिता दिइएको बताउनुभयो ।
उपमहानगरपालिकाले सम्पूर्ण वडामा भवन निर्माण कार्यलाई निरन्तरता दिने भएको छ । वडा नम्बर ६ मा क्रिकेट रंगशाला निर्माणलाई अगाडी बढाउन आवश्यक पहल गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । वडा कार्यालयहरुलाई पक्की सडकले जोडिने र सार्वजनिक भौतिक संरचनाहरु निर्माण गर्दा अपांगमैत्री हुनेगरि निर्माण गरिने भएको छ । नाला नभएका ठाउँमा नाला र नाला सहितको कालोपत्रे पिसीसी र ग्राभेल गर्ने कार्यलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सुर्खेतरोडको दायँबायाँ नाला नभएको स्थानमा ब्यवस्थित पक्की नाला बनाउनका लागि आवश्यक पहल गरिने नगर प्रमुख राणाले बताउनुभयो ।
नीति तथा कार्यक्रममा महनगरपालिकालाई प्राथमिकता दिइएको छ । महानगरका लागि उपयुक्त स्थानमा जग्गाको ब्यवस्थापन गर्ने र संरचना निर्माणका लागि डीपीआर निर्माणका लागि बजेट विनियोजन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।
नगर स्तरीय ठूला योजनाहरुको प्राविधिक प्रतिवेदन तयार गरि आयोजनाहरुको निर्माण कार्य सुरु गर्न पहल गरिने, रात्रिकालिलन बजारको पूर्वाधार निर्माणका लागि पहल गरिने उल्लेख गरिएको छ । नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन पहल गर्ने, नगरबासीलाई स्वच्छ पिउने पानीको पहुँच पु¥याउन आवश्यक पहल गरिने भएको छ ।
जेष्ठ नागरिकहरुको ज्ञान, सिप र धारणा र अनुभवहरुको समन एवं प्रयोगका लागि जेष्ठ नागरिक संजाल गठन गरि आवश्यकता अनुसार दिवा सेवा केन्द्र संचालन गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । यसैगरी गल्फ कोर्ष निर्माण गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
नेपालगञ्जको बजेट एक अर्ब ५४ करोड
यसैगरी, नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७८-७९ का लागि एक अर्व ५४ करोड ७७ लाख ११ हजार ३ सय ६२ रुपैयाको अनुमानित बजेट ल्याएको छ ।
बिहीबार नवौं नगरसभामा उपप्रमुख उमा थापा मगरले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नुभएको हो । बजेट प्रस्तुत गर्दै उपप्रमुख उमा थापा मगरले नगरका २३ वडाका लागि २८ करोड बजेट विनियोजन भएको जानकारी दिनुभयो ।
नेपालगञ्जले आन्तरिक राजश्वको दायरा बढाई आन्तरिक श्रोत वृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रुपमा लिई कार्यान्वयन गर्नु अपरिहार्य रहेको जनाएको छ ।
चालु आव २०७७÷७८ मा नेपालगञ्जको कुल बजेट एक अर्ब ४९ करोड ४२ लाख १७ हजार ५ सय १० रुपैयाको छ । कोभिडका कारण गतवर्ष नेपालगञ्जले आन्तरिक आय लक्ष्य अनुसार उठाउन सकेको छैन । कर संकलनमा नेपालगञ्ज उद्योग बाणिज्य संघसँग सहकार्य गरिने भएको छ । बजेटमा अनुमानित भन्दा बढि ब्यवसाय कर बृद्धि भएमा अनुमानित भन्दा बढि आम्दानी भएको रकमको २० प्रतिशत संघलाई आव २०७९÷८० मा अनुदानको रुपमा उपलब्ध गराइने भएको छ । बजेटमा वहाल करमा छुट, अपांगता भएका ब्यक्ति, महिलाद्धारा सञ्चालित उद्योग व्यवसायमा कर छुटको नीति ल्याइएको छ । कोभिडका कारण स्वदेश फर्केका ब्यक्तिलाई ब्यवसायमा लाग्ने करमा समेत छुटको ब्यवस्था गरिएको उपप्रमुख मगरले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !