कांग्रेस महाधिवेशन : विरासतको दौड शुरु

यात्री (नेपालगञ्ज) – नेपाली कांग्रेसको महाधिवेशनको क्यालेण्डर जारी भइसकेको छ । तर कांग्रेसजनमा अँझै पनि तोकिएकै मितिमा महाधिवेशन हुन्छ कि हुँदैन भन्ने आशंका भने कायमै छ ।
पछिल्लो पटक तय भएको तालिका अनुसार श्रावन १२ देखि सबैभन्दा तल्लो तह वडाको अधिवेशन शुरु भएसँगै महाधिवेशनको ढोका औपचारिक रुपमा खुल्ने छ । त्यसैगरी गाऊँ नगर अधिवेशन १६ गते तय छ । प्रदेश सभा अधिवेशन श्रावन २० मा गर्ने भनिएको छ ।
प्रतिनिधि सभामा एक क्षेत्र मात्र रहेको ठाउँमा श्रावण २३ गते जिल्ला अधिवेशन र एक भन्दा बढी क्षेत्र रहेको जिल्लामा श्रावन २६, भदौ १र २ गते गर्ने निर्णय कांग्रेसले गरिसकेको छ ।
त्यसैगरी केन्द्रिय अधिवेशन भदौ १६ देखि १९ सम्म काठमाडौंमा आयोजना गरिने तय छ ।
सभापति शेरबहादुर देउवाले आँफु फेरी सभापतिको आकाङ्क्षी रहेको घोषणा गरिसकेका छन् । सभापति देउवाको आकांक्षा सार्वजनिक भएसँगै कांग्रेसमा नेताहरुदेखि कार्यकर्ताहरुबीच तिव्र ध्रुविकरण भइरहेको छ ।
तेह्रौं महाधिवेशनमा पराजित रामचन्द्र पौडेल के गर्छन् भन्ने कुरा अँझै स्पष्ट रुपमा आउन सकेको छैन । उतिबेलाका अर्का सभापतिका उम्मेद्वार कृष्ण सिटौला सायद सभापतिमा उठ्ने छैनन् । उनले पहिल्यै भनेका थिए कि म एक पटक मात्रै सभापतिमा लड्छु।
पार्टी सत्ताको केन्द्रमा रहेको कोइराला परिवार यो पटक नेतृत्व फर्काउने प्रयासमा रहेपनि अँझै एकमत हुन सकेका छैनन् । महामन्त्री डा. शशांक कोइराला, केन्द्रिय सदस्यद्वय डा. शेखर कोइराला र सुजाता कोइराला ३ जना नै सभापतिका आकांक्षी हुन । यी मध्ये डा. शेखर लगातार जिल्ला दौडाहमा हिंडेर सभापतिको तयारी गरीरहेका नेता हुन् । महामन्त्री डा. शशांकका लागी संस्थापक नेता कांग्रेसका सदावहार प्राण बीपी पुत्र हुनुको सुविधा छ । क्यान्सर सन्चो भयो भनेर सभापतिको आकांक्षा गरिरहेका राजनीतिका भेट्रान खेलाडी गिरिजा प्रसाद कोइराला पुत्री सुजाता कोइरालाको पनि झिनो आशा छ । उनि महिला नेतृत्व स्थापीत हुनुपर्छ भन्ने नारा लिएर मैदानमा उत्रिन सक्ने सम्भावना छ ।
यो पटक सभापति देउवाको संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधि र संगठन विभाग प्रमुख गोमालमान श्रेष्ठ रुष्ट देखिन्छन् । यो सभापति देउवाका लागी चुनौतीको विषय बन्न सक्ने अनुमान गर्न सकिन्छ ।
कांग्रेसको विरासतको राजनीति केलाउँ :
विरासतमा नेतृत्व हत्याउने परम्परा दक्षिण एशियामा नौलो विषय होइन । पाकिस्तान, बंगलादेश, भारत र श्रीलंकामा पनि विरासतको राजनीतिबाट नेतृत्व स्थापीत हुने परम्परा हावी छ ।
नेपालमा पनि यो संस्कृत खुबै मौलायो । नेपालका विभिन्न राजनीतिक दलहरुमा त्यस्का बाछिट्टा सहजै देख्न सकिन्छ ।
नेपाली कांग्रेस भित्र यो संस्कृतिका जरा गहिराई सम्म पुगेका छन् । यहाँ दलहरुका पारिवारमा एक पीढीदेखि अर्को पीढीमा राजनीतिक विरासत सार्ने प्रचलन छ तर पुस्ता हस्तान्तरण विषय ओझेलमा पर्छ । उसो त यो राजतन्त्रलाई बिलङ्ग गर्ने पद्धति हो । तर लोकतन्त्रमा हरेक सबै ब्यक्ति संविधानको दायरा भित्र रहेर जुनसुकै क्षेत्रमा काम गर्न स्वतन्त्र रहन्छ भन्ने मान्यताले पनि काम गर्छ ।
विरासतको कुरा नेपाली कांग्रेसका ३ नेताहरुमा विषेशगरी लागुहुन्छ । चौथोमा नेतृी सुजाता माथि पनि । अलिकति डा. शेखर पनि यो मापदण्ड भित्र पर्छन् । नेता बन्न उनिहरुलाई विरासतले मद्दत गरेको छ ।
यी मध्ये निधि अलिक संघर्ष गरेका नेता मध्येमा पर्छन् । यहाँ कसैको पक्ष वा विपक्षमा कुरा गर्न खोजिएको होइन, स्पष्ट
रहौं । यतिबेला कांग्रेस चौधौं महाधिवेशनको संघारमा छ ।
कांग्रेस नेता स्व. महेन्द्रनारायण निधिका छोरा हुन विमलेन्द्र । कांग्रेसको महामन्त्री भइसेका छन् र उप सभापति समेत छन् ।
२०३६ सालमा भएको जनकपुरमा सम्पन्न नेपाल विद्यार्थी संघको अधिवेशनमा विमलेन्द्र निधि अध्यक्ष भए ।
मिथिला क्षेत्र जनकपुरमा कांग्रेसका दुई धार २०१७साल देखि अस्तित्वमा थिए। तीमध्ये एउटाको नेतृत्व महेन्द्रनारायण निधिले गर्थे।अर्को समूह बोधप्रसाद उपाध्याय र सरोज कोइराला चलाउँथे ।
उता प्रकाशमान सिंह सर्वमान्य नेता गणेशमान सिंहका पुत्र हुन भनिरहनु नै परेन । बाह्रौं महाधिवेशनबाट कोइराला क्याम्पमा लागेका सिंह कांग्रेसको महामन्त्री र उपसभापति पनि भइसकेका छन् । पटक पटक मन्त्री भइसकेका सिंह आफ्ना पिता स्व. गणेशमान सिंह जस्तो सत्तासँग दुरीमा रहन सकेनन् ।
अर्का नेता शशांक कोइराला त झन काँग्रेसका संस्थापक नेता समाजवादी चिन्तक बीपीका सन्तान हुन, ज्ञातव्य छ । कांग्रेसको स्थापना गर्नुमा मात्रै नभई नेपालमा प्रजातन्त्र स्थापना गर्नुमा कोइराला परिवारको योगदान छ । तर शशांक पार्टी संगठनमा दुःख गरेका वा संघर्षगरेर स्थापीत भएका नेता भने होइनन् । यद्दपी लगातार निर्वाचन जित्ने नेता मध्ये सभापति शेरबहादुर देउवा पछि उनै हुन् ।
यी तीन जना टिम वर्कबाट आ आफ्नो समूहमा स्थापीत भए । देउवा खेमाबाट कोइराला खेमामा पुगेका सिंहको पकड उपत्यका बाहिर उति देखिदैन । त्यसैगरी निधिको पनि संगठनमा पकड ब्यक्तिगत उति रहन सकेन । कोइरालाका हकमा भने देउवा इतरको संगठनले पाउने साथ सहित शंकाको सुविधा सहित शशांक संगठनमा यी ३ मध्ये बढी ओजनदार देखिन्छन् ।
तर कांग्रेस नेताहरुले विधि र प्रक्रियालाई मजवुत बनाउनुको साटो ब्यक्ति बलियो हुने प्रक्रियालाई प्रोत्साहन गर्दा कांग्रेसमा संस्थागतरुपमा भन्दा ब्यक्ति बलियो हुने परीपाटीको विकास भयो ।


error: यो सुविधा उपलब्ध छैन !