खजुरा गाउँपालिकाको बजेट ७५ करोड

खजुरा – खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०७८-०७९ का लागि ७५ करोड ९३ लाख ४० हजारको बजेट ल्याएको छ । डालोमा बजेट बोकेर नवौं गाउँसभामा प्रवेश गरेकी उपाध्यक्ष एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक एकमाया विकले बिहीवार प्रस्तुत गरेको उक्त बजेट सर्बसम्मतले पारित भएको छ ।
संघीय सरकारबाट सशर्त अनुदान ३१ करोड ९८ लाख, विशेष अनुदान १ करोड ५० लाख, प्रदेश सरकारबाट सशर्त २ करोड ८५ लाख ४४ हजार, विशेष अनुदान ६० लाख रहेको छ । खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले अध्यक्षता गरेको गाउँसभामा प्राप्त अनुदान र अनुमानित आय ३८ करोड ९९ लाख ९६ हजार मध्ये पूँजीगततर्फ २० करोड ५८ लाख ३० हजार र चालू खर्चतर्फ १८ करोड ४१ लाख ६६ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
उपाध्यक्ष विकले संघीय सरकारबाट राजश्व बाँडफाँड ९ करोड ८६ लाख ५२ हजार, समानिकरण अनुदान १५ करोड ९८ लाख, समपुरक अनुदान ४२ लाख, प्रदेश सरकारबाट समानिकरण अनुदान ७५ लाख ८५ हजार राजश्व बाँडफाँड तथा सवारी साधन कर ९२ लाख १३ हजार ५ सय २३, राजश्व बाँडफाँड जग्गा रजिष्ट्रेशन १ करोड ९० लाख, समपुरक १ करोड ५० लाख र आन्तरिक स्रोतबाट आन्तरिक राजश्व १ करोड ७० लाख, आर्थिक वर्ष २०७६÷०७७ बाट बाँकी हुने रकम (अल्या) ५ करोड ९९ लाख ४ सय ७७ रहेको उल्लेख गर्नुभयो ।
उपाध्यक्ष विकले प्रस्तुत गरेको बजेटले कृषिको आधुनिकीकरण, व्यवसायिकमार्फत कृषि उत्पादनमा जोड दिएको छ । कोभिड १९ नियन्त्रण तथा त्यसबाट सृजित समस्या समाधान, कृषि उत्पादनमार्फत बेरोजगारी समस्या समाधन र गरिबी निवारण, आर्थिक विकास, राजश्वको स्रोत पहिचान संकलन र परिचालन, सेवा प्रवाह, सुशासन संस्थागत विकास, जनसहभागिता, लैंगिक समानता, समावेशीकरण, वातावरण संरक्षण, विपद व्यवस्थापन स्थान विशेषको सांस्कृतिक पहिचान, आधुनिक, व्यवस्थित र ग्रीन सिटीको विकास गर्ने कुरामा जोड दिएको छ । बजेट छलफलमा सभा सदस्य फिरोज खान, डिल्लीप्रसाद खनाल, सिता गुरुङ, जगबहादुर विक, किस्मत अलि साई, हजुरा बलमे भाग लिएका थिए ।
खजुरा गाउँपालिकाको आर्थिक विधेयक २०७८ अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन, न्यायिक समितिको वार्षिक प्रतिवेदन र खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तथा गाउँसभाका सचिव मणिराम खराल प्रस्तुत गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन पनि सर्वसम्मतले पारित भएको छ । यसअघि बुधबार अध्यक्ष कक्षपतिले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८-०७९ को नीति तथा कार्यक्रम पारित भइसकेको छ ।
यसैबीच, खजुरा गाउँपालिकाले वार्षिकरुपमा उत्कृष्ट काम गर्ने कर्मचारी पुरस्कृत र सम्मान गर्ने क्रममा यसपाली पनि विभिन्न शाखामा कार्यरत कर्मचारीलाई पुरस्कृत गरेको छ । लेखा अधिकृत प्रदीप सुनार, स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेल, प्राविधिक शाखा प्रमुख सोनु शाह, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, रोजगार प्रमुख प्रतिक्षा न्यौपाने, राधापुर स्वास्थ्य चौकी इन्चार्ज दीपक ढकाल, वडा नं. २ का सचिव ताराप्रसाद अधिकारी, कर संकलन होमबहादुर घर्ती, रनियापुर स्वास्थय चौकी प्रमुख पृथ्वीनाथ योगी, अहेव जीवन यादव, स्वास्थ्य शाखाका संजीव न्यौपानेलाई पुरस्कृत गरिएको छ । उनीहरुलाई पालिका अध्यक्ष किस्मतकुमार कक्षपति, उपाध्यक्ष एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले नगद पुरस्कारका साथै दोसल्ला ओढाएर सम्मान सम्मान गरेका हुन् ।


error: यो सुविधा उपलब्ध छैन !