प्रदेश स्वास्थ्य मन्त्री श्रेष्ठसँग दश बुँदे माग

नेपालगञ्ज – भेरी अस्पताल विकास समितिले लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठसमक्ष दश वटा माग अघि सारेको छ ।
अस्पताल निरीक्षणमा आएका मन्त्री श्रेष्ठलाई समितिका अध्यक्ष प्रमोद धिताल र सदस्य सचिव एवं अस्पतालका प्रमुख डा. प्रकाश थापाले विभिन्न दश बुँदे माग राखेका हुन् । अस्पताल विकास समितिले राखेका मागहरु अस्पतालको मात्रै नभएर कोभिड नियन्त्रणको पक्षमा रहेको छ ।
भेरीमा लिक्विड अक्सिजन ट्यांक जडान भइसकेकाले सोका लागि आवश्यक पर्ने लिक्विड अक्सिजनको आयातको सुनिश्चितता गर्नुपर्ने, प्रदेश सरकारबाट प्रदान गरिएको शव वाहन सञ्चालन गर्न आवश्यक पर्ने जनशक्ति, इन्धन र मर्मत सम्भारका लागि नियमित बजेटको व्यवस्था गर्नुपर्ने, कर्मचारीलाई समयमै तलव र जोखिम भत्ता उपलब्ध गराउनु पर्ने, आइसोलेसन अस्पतालहरुमा सबैखाले जनशक्ति, अक्सिजन, स्वास्थ्य उपकरण, औषधीको व्यवस्थापन गर्नुपर्ने, सम्पूर्ण नागरिकलाई कोभिड विरुद्धको खोपको व्यवस्था गर्नुपर्ने, पर्याप्त मात्रामा कन्ट्याक्ट टे«सिङ गर्नुपर्ने, लक्षण चिन्ह नभएका संक्रमितलाई सम्भव भएसम्म घरमा र नभए पालिकाहरुको आइसोलेसनमा राख्ने व्यवस्था गर्नुपर्ने लगायतका माग रहेका छन् ।
मन्त्री श्रेष्ठले भेरीको कोभिड वार्डमा पुगेर निरीक्षण गरेका थिए । त्यसपछि यहाँका प्रमुख जिल्ला अधिकारीलगायतसँग छलफल गरेका थिए । मन्त्री श्रेष्ठलाई बाँकेमा कोभिडविरुद्ध भए गरेका कामहरुबारेमा जानकारी गराइएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !