४ सय ६१ संक्रमित थपिदा बाँकेका ९५ जना
नेपालगञ्ज – बाँकेका तीन वटा ल्याबमा गरिएको परीक्षणमा ४ सय ३१ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका ४ सय ३१ जनामा बाँकेका ९५ जना रहेका छन् ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, भेरी अस्पतालमा ४ सय १३ जनाको परीक्षण गर्दा ३ सय ६० जना, कोहलपुर मेडिकल कलेजमा एक सय १३ जनाको जाँच गर्दा ३२ जना र बागेश्वरी ल्याबमा ९८ जनाको जाँच गर्दा ३९ जनामा कोरोना पुष्टि भएको छ ।
बाँकेका तीन ठाउँमा गरिएको जाँचमा धेरै जनामा कोरोना पुष्टि भएपनि जिल्लाका भने कम रहेका छन् । पछिल्लो दिनमा बाँकेमा संक्रमण दर घट्दै गएको छ ।
बाँकेका दुई ठूला अस्पताल भेरी र कोहलपुर मेडिकल कलेजमा दैनिक दर्जन बढीको मृत्यु भइरहेको छ । मृतक पनि बाहिरी जिल्लाका धेरै रहेका छन् । पछिल्लो १९ घण्टामा १४ जनाको मृत्यु हुँदा बाँकेका चार जना रहेका थिए । मृतक छिमेकी जिल्लाहरु बर्दिया, दाङ, कैलाली, कञ्चनपुरका बढी रहेका छन् ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाट विरामीलाई बाँकेका दुई ठूला अस्पतालमा रिफर गर्ने गरिन्छ । गम्भीर भइसकेपछि अस्पतालमा आउने विरामीलाई बचाउन गाह्रो भइरहेको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताउनुभयो ।
कोरोनाको हटस्पट बनेको बाँकेमा पछिल्लो दिनमा संक्रमण दर र मृतकको संख्यामा कमी आएको छ । यद्यपि, बाहिरी जिल्लाका मानिसको मृत्यु र संक्रमण बढ्दो नै रहेको छ ।
बाँकेमा हाल सक्रिय विरामीको संख्या एक हजार ८ सय ९५ जना रहेका छन् । यहाँका अस्पतालका ४ सय ४१ जना छन् भने बाँकी होम आइसोलेसनमा रहेका छन् । शनिबार बाँकेमा २ सय ३ जना डिस्चार्ज भएका छन् ।
यसैबीच, बाँकेमा थप ६ जनाको मृत्यु भएको छ । ६ जनामा एकजना बाँकेका रहेका छन् । बाँकेका खजुरा गाउँपालिका वडा नं. २ का ५३ वर्षीय पुरुष, बर्दिया गुलरिया नगरपालिका वडा नं. १२ का ५९ वर्षीय पुरुष, बर्दिया राजापुर नगरपालिका वडा नं. २ का ५० वर्षीय पुरुष, दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का २८ वर्षीया महिला, सल्यान त्रिवेणी गाउँपालिका वडा नं. ३ का ६५ वर्षीय पुरुष, दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का ६३ वर्षीय पुरुषको बाँकेमा मृत्यु भएको छ । योसँगै बाँकेका कोरोनाबाट २ सय ७३ र बाहिरी जिल्लाबाट उपचार गराउन आउदा २ सय ३२ जनाको मृत्यु भएको छ ।