डुडुवा आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग

डुडुवा – डुडुवा गाउँपालिकाले निर्माण गरेको आइसोलेशस वार्डलाई व्यवस्थापन गर्न स्वास्थ्य सामाग्री उपलब्ध गराइएको छ । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले आइसोलेसन वार्डमा कोभिड संक्रमणका विरामीलाई उपचार सेवामा सहजताका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।
विजुलीका लागि १० वटा सोलार लाइट सेट, तीन वटा औषधी स्प्रे मेसिन र दुई थान अस्थायी शौचालयका लागि प्यान बिहीबार गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीलाई शाखाका मन्त्री अजिज अहमद सिद्दिकीले हस्तान्तरण गर्नुभयो । समाग्री बुझ्दै पालिका अध्यक्ष चौधरीले गाउँपालिकाले निर्माण गरेको आइसोलेसन वार्डका विरामीहरुलाई सेवा प्रदान गर्नमा सहजता हुने विश्वास व्यक्त गर्नुभयो ।
पालिकामा सञ्चालित आपतकालिन प्रतिकार्यका लागि पूर्वतयारी कार्यक्रम अन्र्तगत सञ्चालित आइसोलेसन सेन्टरका लागि उक्त सामाग्री हस्तान्तरण गरिएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।
डुडुवा गाउँपालिकामा अहिलेसम्म ७८ जनालाई कोरोना संक्रमणको पुष्टि भएको छ । त्यसमध्ये २ जना आइसोलेसनमा वार्डमा उपचार गराइरहनु भएको छ भने ७६ जना होम आइसोलेसनमा रहेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार, होम आइसोलेसनमा बस्ने विरामीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ भने उपचारका क्रममा विरामीलाई साह्रै अप्ठयारो भएमा एम्बुलेन्समार्फत भेरी अस्पताल रिफर गरिनेछ ।


error: यो सुविधा उपलब्ध छैन !