अक्सिजन अभावको मारमा शिक्षण अस्पताल
नेपालगञ्ज – लर्ड बुद्ध एजुकेसन एकेडेमी लि. नेपालगञ्ज मेडिकल कलेजले तत्काल अक्सिजन उपलब्ध नभए ठूलो संकट आउन सक्ने बताएको छ । अस्पतालले अक्सिजन अभावमा थप विरामी भर्ना गर्न नसकेको जनाएको छ ।
अस्पतालका प्रवन्ध सञ्चालक डा. सुरेशकुमार कनोडियाले लिक्विड अक्सिजन ट्यांक सकिएको र भारतबाट आउन नसकेकाले शिक्षण अस्पतालमा हाल उपचार गराइरहेका बाहेक थप कोरोनाका विरामीलाई भर्ना गर्न नसकिएको बताउनुभयो ।
शिक्षण अस्पतालमा हाल एक सय ३३ जना उपचारमा रहेका छन् । सन् २०२१ को शुरुवातदेखि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा ३ सय ३ जना कोरोनाका विरामी भर्ना भएकोमा एक सय २६ जना डिस्चार्ज भएका छन् । ४४ जनाको मृत्यु भएको छ ।
प्रवन्ध सञ्चालक डा. कनोडियाले तीन सय बेडको कोभिड–१९ डेडिकेटेड अस्पताल सञ्चालनका लागि सम्पूर्ण तयारी भएपनि अक्सिजनको अभावमा सबै बेड सञ्चालन गर्न नसकिएको जानकारी दिनुभयो । उहाँका अनुसार, हाल अस्पतालले एक सय ३५ बेडमात्रै सञ्चालन गरिरहेको छ ।
अस्पतालमा लिक्विड अक्सिजन ट्यांक, पीएसए अक्सिजन प्लान्ट, अक्सिजन सिलिण्डरका कोरोनाका विरामीको उपचार भइरहेको थियो । सबैभन्दा भरपर्दो मानिएको लिक्विड अक्सिजन ट्यांक सकिएको छ ।
अस्पतालले नेपाल सरकारले भारतबाट लिक्विड अक्सिजन ट्यांक यथाशक्य चाडो उपलब्ध गराइदिएमा तुरुन्तै कोभिडको लागि तीन सय बेड सञ्चालनमा ल्याउने जनाएको छ । अस्पतालले बैशाख १९ र २१ गते अक्सिजन आपूर्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लिखित जानकारी गराइसकेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकै कोरोना विरामीको चाप अस्पतालमा हुने भएकाले हरेक ५ दिनमा एउटा लिक्विड अक्सिजन ट्यांक वा दैनिक ८ सय अक्सिजन सिलिण्डरको आवश्यकता भइरहेको प्रवन्ध सञ्चालक डा. कनोडियाले जाानकारी दिनुभयो ।