कोरोना महामारी नियन्त्रणका लागि ‘पूजा’

नेपालगञ्ज – कोरोना महामारी नियन्त्रण र शान्तिका लागि नेपालगञ्जका धार्मिक गुरुहरुले ‘पूजा’ गरेका छन् ।
अन्तर धार्मिक सञ्जालको निर्णय अनुसार सबै धर्मका गुरुहरुले आ–आफ्ना शक्तिपीठमा एकै समयमा पूजा गरेका छन् ।
हिन्दु, मुस्लिम, बौद्ध, सिख, इसाई धर्मका गुरुहरुले बुधबार अपरान्ह साढे चारदेखि पाँच बजेसम्म आ–आफ्ना धार्मिकस्थलमा कोरोना महामारी नियन्त्रण र शान्तिका लागि पूजा गरेका हुन् ।
‘समाजमा बेदना, पीडितको माहौल रहेकाले भगवानलाई सम्झिने काम गरेका छौं, सञ्जालका अध्यक्ष एवं बागेश्वरी मन्दिरका मुख्य महन्त चन्दननाथ योगीले भन्नुभयो, कोभिडको निवारण र शान्ति स्थापनार्थ पूजा गरेका छौं । कोभिडबाट दिवंगत भएका व्यक्तिको चीर शान्तिको कामना पनि गरेका छौं ।’
महन्त योगीले पूजा लगाएकाले अब कोभिड कम भएर जाने विश्वास व्यक्त गर्नुभयो । साढे चार बजे बागेश्वरी मन्दिरमा पुग्दा मूल महन्त योगीसहितका तीन जना महन्तहरुले पूजा गरिरहनु भएको थियो । केहीबेर बाहिरपट्टी धुनी बालेर पूजा गरेका महन्तले मन्दिरको भित्र रहेको मूल गर्भमा पनि पूजा गर्नु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !