बिरामी र कुरुवालाई खाना खुवाउन मासिक डेढ लाख सहयोग

नेपालगञ्ज – भेरी अस्पताल नेपालगञ्जमा उपचाररत कोभिड संक्रमित र अन्य विरामीका कुरुवालाई खाना खुवाउन नेपालगञ्ज उपमहानगरपालिकाले मासिक एक लाख ५० हजार सहयोग गर्ने भएको छ । भेरीमा अञ्जनी माता रसोई खाना खुवाइरहेको छ ।
विगतमा अस्पतालमा उपचाररत विपन्न विरामी र कुरुवालाई २० रुपैयामा प्रति छाक विहानको खाना खुवाइरहेको रसोईलाई उपमहानगरपालिकाले मासिक ५० हजार रुपैया सहयोग गरिरहेको थियो । पछिल्लो समय कोभिडका विरामीको संख्या बढेपछि रसोईले प्रति छाक ८० रुपैयामा साँझको खाना खुवाइरहेको छ ।
रसोईले साँझको खाना खुवाउन आर्थिक अभाव भएको भन्दै उपमहानगरपालिकामा अनुरोध गरेपछि सोमबार बसेको कार्यपालिका बैठकले मासिक एकलाख ५० हजार रुपैया सहयोग गर्ने निर्णय गरेको हो ।
अस्पताल हाताभित्रै सस्तोमा खाना खान पाएपछि विरामी र कुरुवालाई ठूलो राहत मिलेको छ ।
नगर प्रमुख डा. धवलशमशेर राणाको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि नगरभित्र उपचार तथा अन्य सेवा प्रभावकारीरुपमा अघि बढाउन पहल गर्ने निर्णय गरेको छ । नगर क्षेत्रभित्र कोभिड विरामीको सहजताका लागि एउटा एम्बुलेन्स सञ्चालनमा रहेको बैठकले अर्को एउटा एम्बुलेन्स समेत थप गर्ने निर्णय गरेको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।
नगरभित्र होम आइसोलेसनमा बसेका विरामीहरुलाई वडाका स्वास्थ्य फोकलपर्सनहरुले नियमित फोन सम्पर्क गरी उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिई आवश्यक परामर्श दिने निर्णय बैठकले गरेको छ । भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा वाल मन्दिरमा तत्काल आइसोलेसन सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !