तीन घण्टाको फरकमा चार जनाको मृत्यु
नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा थप चार जनाको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले नेपालगञ्ज र दाङ तुलसीपुरका दुई÷दुई जनाको मृत्यु भएको जानकारी दिनुभयो । मंगलबार अपरान्ह ४.२० बजेदेखि ७ बजेका बीचमा चार जनाको मृत्यु भएको हो । योसहित आज विहानदेखि ७ बजेसम्म मात्रै आठ जनाको मृत्यु भएको छ ।
फोकलपर्सन वलीका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ७ का ५१ वर्षका पुरुषको आज ४.२० बजे मृत्यु भएको छ । बैशाख २ गते पीसीआर जाँच गरेका पुरुष घरमै बसेका थिए । उनी ७ गते अस्पतालमा भर्ना भएका थिए ।
नेपालगञ्ज उपमहानगरपालिका २ का ४५ वर्षीया महिलाको साँझ ६ बजे मृत्यु भएको छ । स्वास्थ्य समस्या भएपछि बैशाख ९ गते भर्ना भएकी महिलाको १२ गते पीसीआर जाँच गरिएको थियो । योसँगै बाँकेमा कोरोनाबाट ९७ जनाको मृत्यु भएको छ ।
भेरीमा नै दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का ३१ वर्षीय पुरुषको साँझ ६.३० बजे मृत्यु भएको छ । बैशाख १२ गते भेरीमा भर्ना भएका उनको त्यही दिन पीसीआर जाँच गरिएको थियो ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का ३७ वर्षीया महिलाको ७ बजे मृत्यु भएको छ । बैशाख २ गते राप्ती प्रतिष्ठान घोराहीमा पीसीआर जाँच गरेकी महिला ४ गते भेरीमा भर्ना भएकी थिइन् ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा मृत्यु हुनेको संख्या एक सय ८ पुगेको छ ।