नाकाको हेल्थ डेस्कको अनुगमन

डुडुवा – कोरोना संक्रमणको जोखिम उच्च रुपमा बढ्न थालेपछि त्यसको न्युनीकरण तथा सावधानीका लागि अपनाइएका संयन्त्रहरुको मंगलबार अनुगमन गरिएको छ । डुडुवा गाउँपालिकाले सीमासँग जोडिएका नाका तथा स्थानहरुमा नेपाल आवतजावत गर्नेहरुको अवस्था तथा केही महिना अघि स्थापना गरिएका हेल्थ डेक्सहरुको अनुगमन गरिएको हो ।
गाउँपालिकाले सीमासँग जोडिएको होलियाको नयाँबस्ती, छोटी भन्सार र हिरिमिनियाको उद्युमगञ्जमा स्थापना गरिएको हेल्थ डेक्सको अनुगमन तथा संक्रमणको अवस्थाबारे अनुगमन गरिएको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी नेतृत्वको टोलीले सबै नाकामा पुगेर अवस्था बारे अनुगमन गर्दै कोरोना संक्रमणको दर उच्च रुपमा बढेकाले जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो । गाउँपालिकाका अध्यक्ष चौधरीले यो समयमा सम्पूर्ण नागरिकहरु विशेष सावधानी अपनाएर घरभित्रै बसेर स्वास्थ्य सुरक्षाको ख्याल गर्नुपर्ने भन्दै नाकामा आवत जावत गर्ने मानिसहरुको जाँचको कार्यलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई निर्देशन समेत दिनुभयो । यो समयमा कसैलाई पनि केही स्वास्थ्य समस्या देखिएमा तत्काल गाउँपालिकाका स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न सबैलाई आग्रह गर्दै सम्पूर्ण स्वास्थ्य इकाइहरुमा औषधी तथा स्वास्थ्य सुरक्षाका सामाग्रीहरुको राम्रो व्यवस्थापन गरेको बताउनुभयो ।
गाउँपालिकाले सीमा नाकामा आउने मानिसहरुको ऐन्टीजिन जाँच तथा कोरोनाको लक्षण देखिएका विरामीहरुलाई पीसीआर स्वाब संकलनका लागि बेतहानी स्वास्थ्य चौकीमा रिफर गर्ने गरिएको स्वास्थ्य शाखा संयोजक बुढाले बताउनुभयो । अनुगमन टोलीमा अध्यक्ष चौधरीसँंगै गाउँपालिका अन्र्तगतका विभिन्न स्वास्थ्य चौकी इन्चार्ज लगायतको सहभागिता रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !