सोमबार रातीदेखि बाँके जिल्लाभरी नै लकडाउन
नेपालगञ्ज – स्थानीय प्रशासनले बाँके जिल्लाभरी नै लकडाउन गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सोमबार (१३ गते) राती १२ बजेदेखि २० गते राती १२ बजेसम्म जिल्लाभरी नै लकडाउन हुने बताउनुभयो ।
बाँकेका कोरोना संक्रमित ह्वात्तै बढ्दा स्थानीय प्रशासनले नौ गते रातीदेखि १५ गते रातीसम्मलाई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा मात्रै लकडाउन गरेको थियो । संक्रमण बढेपछि स्थानीय प्रशासनले जिल्लाभरी नै लकडाउन बढाएको छ ।
प्रजिअ गेलालले जारी गरेको सूचनामा दैनिक उपभोग्य बस्तुहरु तरकारी, खाद्य, दूध, ग्यासका पसल विहान ६ देखि ९ बजेसम्म सञ्चालन हुने उल्लेख गरिएको छ ।
स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दूरसञ्चार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटीएमजस्ता अत्यावश्यक सेवाहरु एवं सार्वजनिक निर्माण कार्य, पूर्व निर्धारित परीक्षाहरु र हवाई सेवा सञ्चालन गर्न पाइने छ ।
बाँकेका संक्रमणसँगै मृत्युदर बढेको छ । बाँकेमा रातीदेखि आइतबार अपरान्ह चार बजेसम्ममा सात जनाको मृत्यु भइसकेको छ । जिल्लामा अहिलेसम्म ८५ जनाको मृत्यु भइसकेको छ । बाहिरी जिल्लाका एक सय ३ जनाको मृत्यु भएको छ ।
बैशाख १ देखि ११ गतेसम्ममा दुई हजार नौ सय तीन जना संक्रमित थपिएका छन् भने २७ जनाको मृत्यु भइसकेको छ ।