पालिकामा बन्न थाले, आइसोलेसन सेन्टर

नेपालगञ्ज – कोरोना संक्रमितको संख्या उकालो लागिरहेपछि स्थानीय तहहरु आइसोलेसन बनाउन लागि परेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका र कोहलपुर नगरपालिकाले अक्सिजन सुविधासहितको आइसोलेसन सेन्टर बनाउन कस्सिएका हुन् ।
नेपालगञ्ज उपमहानगरपालिकाले ह्वाइट हाउसमा अक्सिजन सुविधासहितको ५० बेड बनाएको छ । आवश्यकता अनुसारलाई त्यसलाई बढाउदै जाने रणनीति बनाइएको छ । अर्को ठाउँमा पनि आइसोलेसन बनाउने तयारी भइरहेको छ । नेपालगञ्ज उपमहानगरपालिका प्रवक्ता प्रमोद रिजालले तत्काललाई ह्वाइट हाउसमा अक्सिजन सुविधासहितको ५० बेड बनाइने बताउनुभयो ।
खजुरा गाउँपालिकाले दुई ठाउँमा गरेर ५० बेडको सुविधा सम्पन्न आइसोलेसन सेन्टर बनाएको छ । जनक शिक्षा सामाग्री केन्द्रमा अक्सिजन सुविधासहितको ४० बेड तयार पारिएको छ । वडा नं. १ को राधापुर स्वास्थ्य चौकीमा १० बेडको आइसोलेसन तयार गरिएको छ । गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले आवश्यकता अनुसार बेड संख्या थप्दै जाने बताउनुभयो । खजुरामा बनाइएको आइसोलेसन सेन्टरको प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललगायतले अनुगमन निरीक्षण गरिसकेका छन् ।
कोहलपुर नगरपालिकाले वडा नं. २ स्थित प्राकृतिक चिकित्सालय तथा योग केन्द्रमा अस्थायी कोभिड अस्पताल सञ्चालन गरेको छ । जहाँ दश जना विरामीलाई राखिएको छ । यो अस्पतालको बेड बढाएर २५ पु¥याउने र अन्यत्र २५ बेडको सुविधा सम्पन्न आइसोलेसन बनाउने उपमेयर सन्जु थारुले बताउनुभयो ।
स्थानीय तहलाई जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), बाँकेले चैत्र महिनामै आइसोलेसन केन्द्र तयार गर्न अनुरोध गरेको थियो । ढिलो गरी भएपनि तीन स्थानीय तहले आइसोलेसन सेन्टर बनाएका छन् । अरु पाँच वटा पालिकाले आइसोलेसन बनाउने तयारी भइरहेको जानकारी दिएका छन् ।
तीन सय ४३ थपिए
राती अबेर आएको रिपोर्ट अनुसार, बाँकेमा आइतबार तीन सय ४३ जना कोरोना संक्रमित थपिएका छन् ।
भेरी अस्पतालमा एक सय ९५ जनाको पीसीआर जाँच गरिएकोमा एक सय ६२ जना, मेडिकल कलेज कोहलपुरमा ९४ जनाको परीक्षण गरेकोमा ६७ जना, बागेश्वरी ल्याबमा एक सय ५२ जनाको परीक्षण गर्दा एक सय १२ जना र जमुनाहा नाकामा १३ जनाको जाँच गर्दा २ जनामा कोरोना पुष्टि भएको छ ।
तीन सय ४३ जनामध्येमा बाँकेका तीन सय जना रहेका छन् ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेज वलीका अनुसार, भेरीमा २ सय ३ जना, मेडिकल कलेज कोहलपुरमा ५७ जना, ह्वाइट हाउसमा ३९ जना, कोहलपुर नगरपालिका कोभिड अस्पतालमा १२ जनाको उपचार भइरहेको छ । दुई हजार दुई सय ७८ जना होम आइसोलेसनमा रहेका छन् । भेरीमा ६८, मेडिकल कलेजमा २६ र कोहलपुर कोभिड अस्पतालमा चार जना सिकिस्त छन् । ११ जना भेन्टिलेटरमा रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !