उपमहानगरपालिकाले ५० बेडको आइसोलेसन बनाउने

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले ह्वाइट हाउसमा अक्सिजन सुविधासहितको ५० बेडको आइसोलेसन सेन्टर बनाउने भएको छ ।
उपमहानगरपालिकाको बोर्ड बैठकले आफ्नै लगानीमा ह्वाइट हाउसमा अक्जिसन सुविधासहितको ५० बेडको आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको हो । ह्वाइट हाउसमा अहिले अक्सिजन सुविधा नरहेको आइसोलेसन सेन्टर सञ्चालनमा रहेको छ । त्यहाँ भारतबाट आएका ३९ जना संक्रमितलाई राखिएको छ ।
उपमहानगरपालिकाले दुई वटा एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । अहिले उसले एउटा एम्बुलेन्सबाट सेवा दिइरहेको थियो । बोर्ड बैठकले कोरोना व्यवस्थापनका लागि जिल्ला समन्वय समितिलाई तीन लाख रुपैया दिने निर्णय गरेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेको बैठकले नेपालगञ्ज उपमहानगरपालिकालाई तीन लाख सहयोग गर्न अनुरोध गरेको थियो ।
बोर्ड बैठकले मेयर डा. धवलशमशेर राणाको संयोजकत्वमा उपमेयर उमा थापामगर, प्रवक्ता प्रमोद रिजालसहितको अनुगमन तथा व्यवस्थापन समिति गठन गरेको छ । समितिले नाकादेखि आइसोलेसन सेन्टरको अवस्था, बजार अनुगमनसमेत गर्नेछ ।
नेपालगञ्जमा अहिले अक्सिजन सिलिण्डरको अभाव देखिएको छ । उपमहानगरपालिकाले अक्सिजन सिलिण्डरका लागि केन्द्र र प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । ‘अक्सिजन पाइएको छ, सिलिण्डरको चर्को अभाव भएको छ, उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले भन्नुभयो, अक्सिजन सिलिण्डरको पहल गरिदिन प्रदेश र केन्द्र सरकारको ध्यनाकर्षण गराएका छौं ।’


error: यो सुविधा उपलब्ध छैन !