चार जनाको मृत्यु
नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, मृतक चारै जना नेपालगञ्ज निवासी हुन् । मृतक दुई महिला र दुई पुरुष रहेका छन् ।
नेपालगञ्ज–१० निवासी ६१ वर्षीया महिलाको राती १.२१ बजे मृत्यु भएको छ । उनी बैशाख ८ गते भेरीमा भर्ना भएकी थिइन् ।
नेपालगञ्ज–८, त्रिभुवनचोकका ३५ वर्षीय पुरुषको शुक्रबार अपरान्ह मृत्यु भएको थियो । नेपालगञ्ज–५ का ८४ वर्षीय पुरुषको राती ७ बजे मृत्यु भएको थियो । नेपालगञ्ज–२ का ७५ वर्षीया महिलाको हिजो राती नै मृत्यु भएको छ ।
भेरीमा केही घण्टाको फरकमा विरामीको मृत्यु भइरहेको छ । फोकलपर्सन वलीले अहिलेसम्म बाँकेका ७६ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।
बाँकेमा शुक्रबार अबेरसम्ममा तीन वटै प्रयोगशालाको रिपोर्ट आउदा ४ सय ७८ जना संक्रमित थपिएका छन् । ६ सय ६५ जनाको पीसीआर गरिएको थियो । एकै दिन ४ सय ७८ जना पोजिटिभ रिपोर्ट अहिलेसम्मकै उच्च हो ।