मेडिकल टीम माग

नेपालगञ्ज – जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेले नेपालगञ्जमा मेडिकल टीम पठाइदिन स्वास्थ्य मन्त्रालयसँग माग गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले लक्षण भएका र अस्पतालमा भर्ना भई उपचार गर्नुपर्ने कोरोनाका विरामीको चाप बढ्दो रहेकाले भेरी अस्पताल र मेडिकल कलेज कोहलपुरमा कार्यरत मौजुदा जनशक्तिबाट प्रभावकारी उपचार व्यवस्थापन गर्न गाह्रो परेकाले केही समयका लागि केन्द्रबाट चिकित्सकको टोली (मेडिकल टीम) उपलब्ध गराइदिन नेपाल सरकार, स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिएको बताउनुभयो ।
नेपालगञ्जको भेरी र कोहलपुर मेडिकल कलेजमा बेड विस्तार गरेर दुई÷दुई सयको बनाउन तयारी भएको छ । बेड विस्तार गर्दा चाहिने अक्सिजनसहितको सुविधा, आइसोलेसन सेन्टर स्थापना, आवश्यक जनशक्ति व्यवस्थापनलगायतका लागि संघमा दश करोड र प्रदेश सरकारसँग ५ करोड रुपैया माग गरिएको छ । बाँकेका पालिकालाई पनि आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकालाई तीन लाख, कोहलपुर नगरपालिकालाई दुई लाख र अरु ६ वटा पालिकालाई एक÷एक लाख सहयोग गर्न अनुरोध गरिएको छ ।
यसैबीच, कोहलपुर नगरपालिकाले पनि भोलीदेखि लकडाउन गर्ने निर्णय गरेको छ । कोहलपुरमा पनि दैनिक संक्रमितको संख्या बढ्दो रहेको छ । कुनै पनि पालिकाले संक्रमितको संख्या दुई सय नाघेपछि व्यवस्थापनका लागि उचित कदम चाल्न सक्छ । कोहलपुरमा विरामीको संख्या दुई सय नाघिसकेको छ ।
यसैगरी, भेरी अस्पताल, नेपालगञ्जमा ५५ वर्षीया महिलाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ निवासी महिलाको आज विहान पौने नौ बजे मृत्यु भएको हो । योसँगै बाँकेमा मृत्यु हुनेको संख्या ७७ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !