संविधान सभा सदस्य सिद्धिकीको कोरोनाबाट मृत्यु

नेपालगञ्ज – संविधान सभा सदस्य मोहम्मदी सिद्धिकीको कोरोनाबाट मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ निवासी ६५ वर्षीया सिद्धिकीको आज ७.३० बजे भेरी अस्पतालमा मृत्यु भएको हो ।
नेपालगाञ्ज मेडिकल कलेजमा जाँच गर्दा चैत्र २८ गते कोरोना पोजिटिभ देखिएपछि सिद्धिकीलाई त्यही साँझ ७ बजेबाट भेरीमा भर्ना गरिएको थियो । उनलाई केही दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
मुस्लिम महिलाको अधिकार र शसक्तिकरणमा सिद्धिकीको ठूलो योगदान रहेको छ । फातिमा फाउण्डेसन नामक संस्था सञ्चालन गरेर सिद्धिकीले मुस्लिम महिलाको अधिकारको सवालमा काम गरेकी थिइन् ।
बाँकेमा योसँगै कोरोनाबाट ७९ जनाको मृत्यु भएको छ ।
यसैबीच, शनिबार बाँकेमा ४ सय २९ जना संक्रमित थपिएका छन् । भेरी अस्पतालमा २ सय ८८ जनाको जाँच गर्दा २ सय ४ जना, मेडिकल कलेजमा १ सय ५८ जनाको जाँच गर्दा १ सय १८ जना, बागेश्वरी ल्याबमा एक सय ४० जनाको जाँच गर्दा ९३ जना र भारतबाट आएका ६९ जनालाई नाकामा जाँच गर्दा १४ जनालाई कोरोना पुष्टि भएको हो ।
बाँकेमा कोरोना संक्रमित दुई हजार एक सय २८ जना पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !