मेडिकल कलेजमा बेड बढ्ने, नेपालगञ्जमा आइसोलेसन सञ्चालन गरिने
नेपालगञ्ज – भेरी अस्पतालको बेड भरिएपछि तत्काललाई कोहलपुर मेडिकल कलेजमा बेड थपिने भएको छ ।
भेरीमा सिकिस्त विरामी आएपनि राख्ने ठाउँ नहुने भएपछि शुक्रबार अपरान्ह बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेको बैठकले मेडिकल कलेज कोहलपुरमा दुई सय बेड सञ्चालन गर्ने निर्णय गरेको हो । अहिले मेडिकल कलेजमा कोभिडका लागि सय बेड छुट्याइएको छ ।
बैठकले नेपालगञ्जमा तत्कालै अक्सिजन सुविधासहितको आइसोलेसन सञ्चालनमा ल्याउने निर्णय गरेको छ । नेपालगञ्जमा अक्सिजनसहितको आइसोलेसन सञ्चालनमा ल्याउन सकेमा सिकिस्त विरामीलाई भेरीमा पठाउने र अरुलाई त्यहाँ राख्ने रणनीति बनाइएको छ ।
भेरीका सबै १ सय ४२ वटै बेड भरिएपछि दैनिक थपिरहेका विरामीलाई कहाँ राख्ने भन्ने चिन्ता थियो । तत्काललाई मेडिक कलेजमा बेड बढाएर नेपालगञ्जमा अक्सिजन सुविधासहितको आइसोलेसन सञ्चालन गरेर समस्या समाधान गरिने भएको छ ।
बैठकले संघ र प्रदेश सरकारसँग स्रोत व्यवस्थापनका लागि पैसा माग्ने, समन्वय र व्यवस्थापनका लागि कन्ट्रोल टीम बनाउने निर्णय गरेको छ ।
यसैबीच, शुक्रबारमात्रै कोहलपुर मेडिकल कलेजमा बर्दिया राजापुरका ४२ वर्षीय पुरुष र बाँके बैजनाथ गाउँपालिकाका ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । बाँकेमा अहिलेसम्म जिल्लावासी ७० जना र बाहिरबाट उपचार गराउन आउदा मृत्यु हुनेको संख्या सय जना पुगेको छ ।