स्टाटस लेख्न बाध्य भए…
बसन्त शर्मा (नेपालगञ्ज) – शुक्रबार दिउँसो भेरी अस्पतालको कार्यालयमा रहेका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाको अनुहारमा तनाव सहजै देख्न सकिन्थ्यो ।
अस्पतालका मेसु डा. थापा सिडिओसँग अस्पतालको अवस्थाबारे जानकारी गराउँदै मोबाइलमा कुरा गर्दै गर्दाको तस्विर हो यो ।
१६ घण्टा अगाडी फेसबुकमा स्टाटस लेखेर अस्पतालको स्थिति सार्वजनिक गरेका मेसु डा. थापा अस्पतालमा परेको दबाव रिलिज गर्न खोज्दै छन् । अस्पतालले थप ब्यवस्थापन गर्न नसक्ने भन्दै १ सय ४२ बेड भरिभराउ भएर ‘आउट अफ क्यापासिटि’ भइसकेको बताउँछन् ।
कतिपय सेवाहरु यो अस्पतालले भन्दा अरु अस्पतालबाट दिन नसकिने सेवा दिइरहनु पर्ने अवस्था रहेकाले अस्पताल निरन्तर सबै सेवा दिनुपर्ने भएकाले ब्यवस्थापनमा समस्या देखिएको छ ।
‘मासिक ३५ लाख आम्दानी गर्नै पर्ने अवस्था छ,’ डा.थापाले कर्मचारीको व्यवस्थपनका बारेमा जानकारी दिंदै भन्नुभयो ।
विरामीहरुको भिजिटर कन्ट्रोल गर्न नसकिने अवस्थाले अस्पतालमा विरामी र उनका आफन्तहरुको चाप रोक्न मुस्किल परिरहेको मेसु डा.थापाले बताउनुभयो ।
ओटीमा काम गर्ने सबै स्वास्थ्यकर्मी संक्रमित भएकाले सेवा बन्द भएको छ । कोभिड संक्रमितको दर करिव ९२ प्रतिशत रहेको भयावह अवस्था रहेको मेसु.डा. थापाले बताउनुभयो ।
विद्युत लाईन अवरुद्ध भएर नेपालगञ्जमा अक्सिजनको उत्पादनमा समस्या भएकाले अस्पतालमा अक्सिजन अभाव भएको डा.थापा बताउनुहुन्छ ।
फेसबुकमा अस्पतालको अवस्था बारे स्टाटस लेखेका मेसु डा.थापाले आफ्नो स्टाटस बारे खुलस्त हुँदै भन्नुभयो, ‘मैले यहाँको अवस्थाबारे लेख्न बाध्य भएँ, स्टाटस पछि सबै क्षेत्रमा सकारात्मक पहल शुरु भएको छ ।’