रुपबहादुरको पाँच गोल
नेपालगञ्ज – रुपबहादुर लामाको ५ गोलसँगै सुदूरपश्चिमको स्टार सिटी युथ क्लवले कर्णाली प्रदेशको लेकाली युथ क्लवलाई ७–१ गोलले पराजित गरेको छ ।
सुदूरपश्चिम पाँचौ खेल खेल्दासम्म अपराजित रहेको छ । बिहीबार पाँचौ खेल खेलेको सुदूरपश्चिमले कर्णालीलाई फराकिलो अन्तरले पराजित गरेको हो । कर्णालीले शुरुवाती गोल गरेपनि मध्यान्तर पछि सम्हालिन नसक्दा धेरै गोल खाएको थियो ।
कर्णालीका रोशन राना मगरले ९ मिनेटमा गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । सुदूरपश्चिमका लामाले ३६ मिनेटमा गोल गरेर टीमलाई बराबरीमा फर्काए । मध्यान्तरपछि सुदूरपश्चिम चढेर खेल्दा कर्णाली दबाबमा परेको थियो । सुदूरपश्चिमका लागि ५५ र ६५ मिनेटमा गोल गर्दै रुपबहादुरले ह्याट्रिक पूरा गरे । त्यसपछि ८२ र ८६ मिनेटमा अरु गोल थपे । सुदूरपश्चिमका लागि टोपबहादुर विष्टले ६७ मिनेट र ऋतिक खड्काले ९१ मिनेटमा गोल गरेका थिए ।
नेपालगञ्जमा चलेको एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको सुदूरपश्चिम र एउटा पनि खेल जित्न नसकेको कर्णालीबीचको खेल एकतर्फी हुने आकलन थियो । मध्यान्तरसम्म राम्रो खेलेपनि त्यसपछि कर्णालीले खेल्न सकेन । सुदूरपश्चिमका खेलाडीले खेलाई खेलाई गोल गरे । कर्णाली यसअघि बागमतिसँग ९–१ गोलले पराजित भएको थियो ।
सुदूरपश्चिम लिगको शीर्ष स्थानमा रहेको छ । पाँचौ खेल खेल्दा सुदूरपश्चिमको १३ अंक भएको छ । उसले अझै एउटा खेल खेल्न बाँकी रहेको छ ।
खेलमा सुदूरपश्चिमका रुपबहादुर म्यान अफ द म्याच भए ।