श्रेष्ठ भए, कोभिड हिरो
नेपालगञ्ज – ‘इमान्दारीताका साथ काम गर्नुपर्छ । सफलता आफै पछि लागेर आउँछ ।’ जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठको हकमा पनि यस्तै भएको छ ।
जनस्वास्थ्य अधिकृत श्रेष्ठले बाँकेमा बसेर कोभिड–१९ को महामारीलाई नियन्त्रण गर्नमा अह्म भूमिका खेल्नु भयो । श्रेष्ठले जुन इमान्दारीताका साथ रात दिन खटेर कोभिड–१९ नियन्त्रणमा भूमिका खेल्नु भयो, अहिले त्यसको फल सम्मानको रुपमा पाइरहनु भएको छ ।
संविधान दिवसको दिन प्रबल जनसेवा श्री चौथोबाट सम्मानित हुनु भएका श्रेष्ठ सेना दिवसमा प्रधान सेनापति प्रशंसा निशान तथा प्रशस्तीले सुशोभित हुनुभयो । स्वास्थ्य कार्यालय, बाँकेमा रहदा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको फोकलपर्सन भएर श्रेष्ठले गरेको कामको मूल्यांकन गरेर बिहीबार फेरि अर्को सम्मानको घोषणा भएको छ ।
हाल बर्दिया स्वास्थ्य कार्यालयमा कार्यरत श्रेष्ठलाई कोभिड हिरो घोषणा गरिएको छ । एकाउन्टबिलिटी ल्याबले श्रेष्ठलाई उक्त सम्मानको घोषणा गरेको हो । देशभरका तीन जनालाई कोभिड हिरोज छान्दा श्रेष्ठ पर्नु भएको हो ।
१ सय ३४ जनालाई पछि पार्दै श्रेष्ठसहित धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्याय र जलेश्वर अस्पतालका नर्स चण्डिका अधिकारी कोभिड हिरोज घोषित हुनु भएको बताइएको छ ।