प्रधानमन्त्री कप : फाल्गुन २१ देखि २५ गतेसम्म

नेपालगञ्ज – सातौ प्रधानमन्त्री आमन्त्रण महिला भलिबल प्रतियोगिता फाल्गुन २१ देखि २५ गतेसम्म हुने भएको छ ।
बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरी र प्रतियोगिताका मूल आयोजक समितिका संयोजक एवं प्रदेश सांसद कृष्णा केसी नमुनाले मंगलबार पत्रकार सम्मेलन गरेर उक्त मिति घोषणा गर्नु भएको हो ।
नेपालगञ्जको रंगशालास्थित कभर्ड हलमा हुने प्रतियोगितालाई विगतको भन्दा भब्य र सब्य बनाउने मूल आयोजक समितिका संयोजक केसीले बताउनुभयो । उहाँले पुरस्कार राशीसमेत बृद्धि गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।
प्रदेश सांसद केसीले प्रधानमन्त्री कप आमन्त्रण भलिबल प्रतियोगितालाई नेपालगञ्जको चिनारीको रुपमा विकास गर्ने उद्घोष गर्नुभयो ।
संघका अध्यक्ष ठकुरीले दक्षिण एसियाकै नम्बर एक क्लव च्याम्पियनसीपका रुपमा प्रधानमन्त्री कपलाई स्थापना गर्दै लगेको बताउनुभयो ।
बाँकेका आठ वटै पालिकाका उपप्रमुखहरुको एक्यबद्धता रहेको प्रतियोगिताको सहसंयोजक नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरलाई चयन गरिएको छ । पत्रकार सम्मेलनमा कोहलपुर नगरपालिकाका उपमेयर सन्जु चौधरी, खजुराका उपप्रमुख एकमाया विक, जानकीका भूमिसरा धिताल, राप्तीसोनारीका धनीसरा खत्री, बैजनाथका शारदा रेग्मी विकको उपस्थिति रहेको रहेको थियो ।
प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लव, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे इण्डिया, पाँचौमा एपीएफ र छैठौमा पुलिस विजेता भएका थिए । विगतमा जसरी यसपाली पनि भारत र बंगलादेशका क्लवलाई प्रतियोगितामा सहभागी गराउने तयारी भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !