राप्तीसोनारीमा नौ वटा विधेयक पारित
नेपालगञ्ज – राप्तीसोनारी गाउँपालिकाको आठौ गाउँ सभा समापन भएको छ ।
पुस २४ गते शुरु भएको गाउँ सभा नौ वटा विधेयक र ऐन पारित गर्दै सकिएको हो । गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले गाउँ सभामा दश वटा विधेयक र ऐनलाई अगाडि सार्दै कार्यसूची प्रस्तुत गर्नु भएको थियो ।
गाउँ सभाले कृषि विकास, संस्था दर्ता, तथ्यांक तथा अभिलेखन, स्थानीय स्वास्थ्य तथा सरसफाई, स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण, स्थानीय तहको औद्योगिक व्यवसाथ प्रवद्र्धन, विपद जोखिम न्यूनीकरण, स्थानीय शिक्षा ऐन र स्थानीय वन ऐन २०७७ पारित गरेको छ । कार्यसूचीमा रहेको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित विधेयकलाई हटाइएको छ ।
गाउँ सभामा प्रस्तुत विधेयक र ऐनलाई विस्तृत छलफलका लागि वडा कार्यालयमा पठाइएको थियो । प्रस्तुत भएका विधेयक र ऐनलाई पालिकामा बनाइएका विषयगत समिति, विधान समिति हुँदै कार्यपालिकाको बोर्ड बैठकमा छलफल गरेर गाउँ सभाबाट पास गरिएको छ ।
राप्तीसोनारीले पहिले नै ३३ वटा ऐन, १० वटा नियमावली, १२ वटा कार्यविधि बनाइसकेको थियो ।