अझै ढिके नुनको प्रयोग !
नेपालगञ्ज – बाँकेमा अझै पनि ढिके नुनको प्रयोग भइरहेको पाइएको छ । सीमावर्ती जिल्ला बाँकेको ग्रामीण बस्तीमा अझै पनि ढिके नुन प्रयोग भइरहेको सम्बद्धहरुले बताए ।
साल्ट टे«निङ कर्पोरेशन, नेपालगञ्जका प्रमुख मनोज चौधरीले स्कूल स्कूलहरुमा आयोडिन नुनका बारेमा कक्षा लिन जादा केही विद्यार्थीले ढिके नुन खाने गरेको बताएको जानकारी दिनुभयो ।
साल्ट टे«निङले आयोडिनयुक्त प्याकेट र आयोडिन राखेको ढिके नुन बिक्री गर्ने गर्दछ । तर, ग्रामीण बस्तीमा भारतबाट ढिके नुन ल्याएर प्रयोग गर्ने गरेको पाइएको छ । साल्ट टे«निङका प्रमुख चौधरीले भारतबाट ल्याउने ढिके नुनमा आयोडिन नहुने दावी गर्नुभयो । नुनको प्रयोग पनि सही तरिकाले भइरहेको छैन । तरकारी पकाउने बेलामा शुरुमै नुन हाल्न नहुने चौधरीको सुझाव रहेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले फेब्रुअरी महिनाभरी नै विविध कार्यक्रम गरिरहेको छ । सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले नाका क्षेत्रमा ढिके नुनको प्रयोग बढी भएकाले त्यहाँ बढी फोकस गरेर कार्यक्रम गरिरहेको बताउनुभयो । उहाँका अनुसार, उपमहानगरपालिकाले आयोडिन नुनको बारेमा सन्देशमुलक ब्यानर टाँस्ने, ब्रोसर छापेर बाँड्ने, समुदायमा जनचेतना जगाउने, स्वास्थ्य संस्थाहरुमा एक महिनासम्म आयोडिन नुनबारेमा जानकारी दिने कार्यक्रम बनाइएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जागेश्वर बस्नेत, तेज वली, उपभोक्ता हित संरक्षण मञ्चका बसन्त गौतमले आयोडिन नुनका बारेमा विचार राख्नु भएको थियो ।