प्रधानमन्त्रीको स्वार्थमा राष्ट्रपति मतियार – थापा

नेपालगञ्ज – नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वार्थी र अहमकारीको आरोप लगाउनु भएको छ ।
नेपाली कांग्रेसले नेपालगञ्जमा आयोजना गरेको विरोध सभामा बोल्दै नेता थापाले प्रधानमन्त्रीको स्वार्थ र अहमकारमा राष्ट्रपतिसमेत मतियार भएको बताउनुभयो । ‘एउटा अहमकारी र स्वार्थी प्रधानमन्त्रीको राष्ट्रपति मतियार बन्दा एकजना सांसद सडकमा आएर बोल्नु परेको छ, थापाले भन्नुभयो, ‘यो सांसदको मात्रै होइन, जनमतको अपमान हो ।’
थापाले प्रधानमन्त्रीले संसद विघटन गर्ने कुरा संविधानमा उल्लेख नभएको बताउनुभयो । ‘नेपालमा पटक–पटक अविश्वास दर्ता गर्ने काम भएपछि संविधानमै दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नसक्ने व्यवस्था गरियो, संसद विघटनको विकृति रोक्नका लागि प्रधानमन्त्रीले विघटन गर्न नपाउने व्यवस्था भयो, थापाले भन्नुभयो, प्रधानमन्त्रीले अहिले व्यवस्था नै नभएको अधिकार प्रयोग गरेका छन् । यो संविधान विपरित छ ।’


बहुमतको पार्टीले सरकार चलाउन नसकेपछि चुनावमा जाने कुरा गरेको सुनिएको उल्लेख गर्दै थापाले जुनसुकै सांसदलाई सरकार बनाउने अधिकार भएकाले त्यसको अधिकार प्रयोग गर्न नपाएको बताउनुभयो ।
कांग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सभापति रमेश गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस बाँकेका सभापति किरण कोइराला, प्रदेश सांसद मो. याकुव अन्सारीलगायतले सरकारले असंवैधानिक कदम चालेको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !