विपन्नलाई न्यानो लुगा वितरण

नेपालगञ्ज – एसओएस युवालय, नेपालगञ्जको युवा क्लवले विपन्न, सिमान्तकृत तथा पिछडिएको समुदाय तथा परिवार गुमाएका अभिभावकविहीन बालबालिकालाई एक कार्यक्रमका न्यानो लुगा वितरण गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले न्यानो लुगा वितरण गर्नु भएको हो । एसओएस युवालय नेपालगञ्ज, युवा क्लवका युवायुवतीले आफ्नो पाकेट खर्चबाट बचाएको रकमबाट नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ र १९, जानकी र वैजनाथ गाउँपालिका अन्तर्गतका ६३ वयस्कका लागि बिछ्याउने म्याट र कम्बल तथा बालबालिकालाई न्यानो लुगा र लङ कपि प्रदान गरेका हुन् ।
ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्र, नेपालगञ्जको समन्वयमा सम्पन्न सो कार्यक्रममा नगर प्रमुख डा. राणाले एसओएस युवालय नेपालगञ्जका युवायुवतीले आफ्नो पाकेट खर्चबाट बचाएको रकमबाट जाडोको मौसममा विपन्न समुदायलाई न्यानो लुगा वितरण गरेकोमा सराहना गर्नु भयो ।


अध्यक्षको आसनबाट एसओएस युवालय नेपालगञ्जका नायव निर्देशक तुलाराम विश्वासले एसओएसमा आरक्षित ८४ युवाले आफ्नो पकेट खर्चबाट बचाएको ४८ हजार ३ सय ५० रुपैयाँ बराबरको सहयोग गरेको जानकारी दिनुभयो । युवाले पकेट खर्चबाट मासिक ५० रुपैयाँका दरले संकलन गर्ने गर्दछन् र उक्त रकमबाट विभिन्न किसिमका मानव कल्याणकारी कामहरु गर्दै आएका छन् ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ का अध्यक्ष वुद्धिसागर सुवेदीले पनि न्यानो लुगा वितरण गर्नुभयो ।
ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रकी अध्यक्ष लता शर्मा, उपाध्यक्ष तारा केसी, एसओएस युवालय नेपालगञ्जकी सहायक निर्देशक मीना तुलाधर, सामाजिक अभियन्ता मीनबहादुर अर्याल लगायतको सहभागिता रहेको थियो ।
एसओएस युवालय नेपालगञ्जकी अनिता शाहीले सञ्चालन गरेको उक्त कार्यक्रमको प्रारम्भमासपना सिजापतिले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सोही अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा.राणाले युवालयको निरीक्षण गरी गतिविधिबारे जानकारी लिनु भएको उपनिर्देशक विश्वासले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !