सूर्य चाहिए यतै आउनुस् – बस्नेत

नेपालगञ्ज – नेकपाका नेता महेश बस्नेतले माधव नेपाल र झलनाथ खनाललाई सूर्य चुनाव चिन्ह चाहिएमा मूलघरमा फर्किन आव्हान गर्नु भएको छ ।
प्रेस संगठन, बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा माधव नेपाल र झलनाथ खनाललाई लक्षित गर्दै नेता बस्नेतले भन्नुभयो, ‘भागी विवाह गर्नु भएको छ । थर र गोत्रको डर पनि छ । माधव र झलनाथले हसिया हथौडा लिन सक्नु पर्छ । सूर्य चिन्ह चाहिएमा यतै आए हुन्छ ।’
नेता बस्नेतले एमालेको गुटबन्दीमा रमाएका साथीहरु प्रचण्डतिर लागेको आरोप लगाउदै उनीहरुलाई संसद पुनस्र्थापना भइहालेमा प्रधानमन्त्री हुन पाइन्छ कि भन्ने आशा रहेको बताउनुभयो । उहाँले अदालतले संसद पुनस्र्थापना गरिदिएमा राजनीतिक अराजकता मच्चिसँगै अपराधीकरण बढ्ने बताउनुभयो ।
बस्नेतले प्रचण्ड–माधव समूहलाई पार्टीको माओवादी वा मालेमा नामाकरण गरेर अघि बढ्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘पेरिसडाडामा एमालेले दावी गर्दैन । तपाईहरु पनि बल्खुलगायत देशभरका एमालेले पसिना बगाएर बनाएका संरचनाहरुमा आँखा नलगाउनुस् । यदि हाम्रा सम्पतिमा आँखा लगाएमा देशभरका युवा विद्यार्थी चुप बस्दैनन् ।’
एक प्रश्नमा बस्नेतले प्रचण्डलाई केन्द्रीय कमिटि विस्तार गर्ने अधिकार नै नभएको दावी गर्नुभयो । प्रचण्डलाई हैसियत भन्दा बढी ४० प्रतिशत भाग दिएकोमा त्यो नै असफल अभ्यास भएको बताउनुभयो ।
बस्नेत कोहलपुरमा पार्टीको कार्यक्रममा आउनु भएको हो ।


error: यो सुविधा उपलब्ध छैन !