कांग्रेसले १३ गते प्रदर्शन गर्ने
नेपालगञ्ज – प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले देशभर प्रदर्शनको तयारी गरेको छ । कांग्रेसको केन्द्रिय कार्यक्रम अनुसार यही पुस १३ गते नेकपा सरकारको असंबैधानिक कदमविरुद्ध बाँके लगायत देशभर प्रदर्शन हुँदैछ ।
कांग्रेसले ७७ वटै जिल्लाका प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको हो । सोही कार्यक्रम अन्तर्गत नेपाली कांग्रेसले बाँकेमा पनि सरकारविरुद्ध प्रदर्शनको तयारी गरेको छ । बाँकेमा हुन लागेको प्रदर्शनमा कांग्रेसका युवा नेता एवम् पूर्वमन्त्री गगन थापा लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम तय भइसकेको नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले जानकारी दिनुभयो ।
यही पुस १३ गते सोमबार दिउँसो १ बजे नेपालगञ्जको त्रिभुवन चोकमा नेता थापाले सम्बोधन गर्ने कार्यक्रम छ । उक्त कार्यक्रमलाई सफल पार्न नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले शनिबार पार्टी कार्यालयमा बृहत छलफल गरेको छ । क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ताले पुस १३ गते दिउँसो त्रिभुवन चोकमा पुगेर सरकारी कदमको विरोधमा उत्रन सम्पूर्ण नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो ।
प्रदर्शन कार्यक्रमको तयारीका लागि क्षेत्र नम्बर २ क्षेत्रीय समितिले एक तयारी समिति गठन गरेको क्षेत्रीय सचिव सुनिलसिंह हमालले जानकारी दिनुभयो । उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न क्षेत्रीय सभापति रमेश गुप्ताको संयोजकत्वमा आर्थिक समिति, नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगर सभापति प्रशान्त विष्टको संयोजकत्वमा अतिथि सत्कार, तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्र शाहको संयोजकत्वमा मञ्च ब्यवस्थापन र नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको संयोजकत्वमा प्रचार–प्रसार समिति निर्माण गरिएको छ ।
क्षेत्रीय सभापति गुप्ताको अध्यक्षतामा सम्पन्न उक्त छलफलमा नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला, उपसभापति सुनिल नरसिंह राणा, प्रदेश सांसदद्वय सुरेन्द्र हमाल र मोहम्मद याकुव अन्सारी, कांग्रेस नेताहरु राजकुमार बर्मा, डा. सुरेशकुमार कनोडिया, पूर्वसांसदहरु, कांग्रेसका जिल्ला कार्यसमिति पूर्व पदाधिकारी, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर, डुडुवा गाउँपालिकाका उपप्रमुख साहिदा बानो, कांग्रेस जिल्ला र क्षेत्रीय कार्यसमिति सदस्य, वडाअध्यक्षहरु, वडा सदस्य, विभिन्न भातृ तथा शुभेच्छुक संगठनका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।