बीस रुपैयामा पेटभरी खाना
नेपालगञ्ज – अनेक प्रकारले पून्य कमाउन सकिन्छ । राम्रो मनले फाइदा नसोचेर गर्ने कामलाई पून्य भनिन्छ सायद ।
भेरी अस्पताल, नेपालगञ्जमा यतिबेला सुन्दरकाण्ड मित्र मण्डलले त्यही पून्यको काम गरिरहेको छ । अस्पतालमा आउनेहरुलाई २० रुपैयामा पेटभरी खाना खुवाएको छ ।
अस्पताल, जहाँ जहिले पनि पैसाको अभावजस्तै हुन्छ । अड्कलेर ल्याएको पैसा अपुग नै हुन्छ । अनि बिरामीलाई छोडेर बाहिरीतिर खाना खोज्दै हिड्नु अझ झन्झट र समस्या हुन्थ्यो । सुन्दरकाण्ड मित्र मण्डलले अस्पताल परिसरमै सस्तोमा मिठो खाना खुवाइदिएपछि अस्पतालमा आउनेहरु खुशी हुने गरेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाको केही सहयोगमा सुन्दरकाण्ड मित्र मण्डलले यो पून्यको काम गरिरहेको छ । ‘मासिक तीन लाखजति घाटा हुन्छ । हामीले सहयोग गर्नेलाई जुटाएर २० रुपैयामा भात खुवाइरहेका छौं, विजय गुप्ताले भन्नुभयो ।
दैनिक चार सय जनालाई खाना खुवाउने लक्ष्य राखिएको छ । त्यही अनुसारको सामाग्री तयार गर्ने गरिएको छ । अहिले दैनिक दुई सय बढीले खाना खाइरहेका छन् । यस क्षेत्रको रिफरल सेन्टरको रुपमा रहेको अस्पतालमा जताततैका बिरामी ल्याइन्छ । ती बिरामी बोकेर आउने मानिसलाई खानाको व्यवस्था अस्पताल परिसरमै भएको छ, त्यो पनि सस्तोमा ।