बिहेमा घुसेर खान्थ्यौँ
क्रमशः
साथीभाइसँग मिलेर टोलछिमेकमा केही बदमासी पनि गरियो । क्रिकेट अभ्यास गरेर आएपछि कवितीर्थमा हामीले साथीभाइ बसेर गफ चुट्थ्यौँ । त्यसलाई अड्डा मार्ने भनिन्थ्यो । जाफर, देबु, सुजित, पिन्टु, गौतम, राजु, गोविन्दो, शोभन, लाल्टु, बाबु, नान्टुहरू खेलेर, पढेर, काम सकेर साँझ अड्डा मार्न आउँथे । शनिबारको दिन हामी लुकीलुकी तास खेल्थ्यौँ । ब्रे (तासको खेल) खेलेर रमाइलो गथ्र्यौं । अड्डा मार्न बस्नुको एउटा उद्देश्य बाटामा हिँड्ने केटी जिस्क्याउनु पनि हुन्थ्यो । गोविन्दोका बदमासी धेरै थिए । कोही केटी आउनेबित्तिकै ‘कता जान थालेको’ भनेर सोधिदिन्थ्यो । राजु पनि केटी जिस्क्याउन खप्पिस थियो । यी साथीहरूले केटी जिस्क्याउँदा सोझा हामीमाथि गाल आइपथ्र्याे । त्यसैले केटी देख्नासाथ उनीहरू जिस्क्याउन थाल्थे, हामी अन्तैतिर टाउको घुमाएर बस्थ्यौँ ।
म स्टेट लेबलको क्रिकेट खेलिसकेको खेलाडी थिएँ । त्यसमा पनि खिदिरपुर क्षेत्रमा मेरो नाम थियो । जाफरलाई पनि धेरैले चिन्थे । त्यसैले पनि साथीहरूले केटी जिस्क्याउँदा हामीलाई अप्ठ्यारो पथ्र्यो । हामीले गोविन्दोलाई त्यस्तो नगर्न थुप्रैपटक भन्यौँ । तर, माने पो !
यस दौरान दुइटा रोचक घटना भए । हामी अड्डा मार्ने ठाउँनजिक बङ्गाली केटीहरू मात्र पढ्ने शरद पाल गल्र्स स्कुल थियो । स्कुल परिसर भाडामा लिएर कार्यक्रमहरू भइरहन्थे, बिहे भोजहरू पनि हुन्थे ।
एक दिन अभ्यास गरेर हामी अड्डा मार्दै थियौँ । सबैलाई भोक लागिरहेको थियो । नजिकै बिहेको पार्टी चलिरहेको थियो । मैले साथीहरूलाई जिस्क्याएँ,
‘जाऊ कि क्या हो भोज खान ?’
केटाहरूलाई कुरा मन प¥यो । केहीले भने ‘हुन्न, हामीलाई सबैले चिन्छन्,
बेइज्जत हुन्छ’ भने ।
मैले भनेँ, ‘चिने के भो त ? झन् निम्ता रहेछ भन्लान् ।’
सबै मेरो कुरामा मन्जुर भए । त्यसपछि म, राजु, गोविन्दो, देबु र गौतम बिहे पार्टीमा गयौँ । मैले उनीहरूलाई नमस्ते गरेर हिँड्न सम्झाएँ । संयोगवश त्यो दिन सबैले राम्रै कपडा लगाएका रहेछौँ । त्यसैले सजिलो भयो ।
बिहे भोज भव्य थियो । हामी सुटुक्क छि¥यौँ । सबैभन्दा अगाडि म नै थिएँ । वरवधुका आफन्तजन स्वागतका लागि गेटमा उभिने चलन हुन्थ्यो । मैले नमस्कार, बधाई छ भन्दै भित्र पसेँ । अरू साथीले पनि त्यसै गरे । मज्जाले बिहे भोज खाएर हाँस्दै अड्डा मारेको अझै सम्झना छ ।
दुई महिनापछि फेरि त्यस्तै भयो । अड्डा जमाएर बसिरहेका बेलामा ठूलो आवाजमा माइक बजेको सुनियो । के हो भनेर बुझ्दा हामीले टेनिस म्याच खेल्ने मैदान मिलन सङ्घोको छेउमा बिहे पार्टी रहेछ । आज यहाँ धावा बोल्नुपर्छ भनेर साथीहरूबीच सल्लाह भयो । म, जाफर, सुजिदा, राजु, गोविन्दोले जाने निधो ग¥यौँ । फेरि पहिलेकै स्टाइल अपनाएर नमस्कार गर्दै भित्र पस्यौँ ।
अहिलेजस्तो गोलो पारेर कुर्सी राख्ने चलन थिएन । लामालामा बेन्चहरू राखिएका हुन्थे । एकातिरबाट पसेर अर्कोतिरबाट निस्किने पन्डालमा हामी पस्यौँ । यताबाट हामी पस्यौँ, उताबाट अरू आए । म बीचमा परेँ । साल र केराको पातमा सुरुमै कागती, भुजिया, नुन दिने बङ्गालीको परम्परा हुन्छ ।
तरकारी, कचौरी, मासु एउटा भाँडामा लिएर दिँदै जान्छन् । आज झन् मजा आउने भन्दै हामी सुस्तरी कुराकानी गर्दै थियौँ । जाफर मेरो छेउमा थियो । ऊ डराइरहेको थियो ।
म भने नडराइ खाइरहेको थिएँ । मेरो कुहिनाले छेउको मान्छेलाई लाग्दा खिर पोखिएर उसको नाकमा प¥यो । भएन बर्बाद ? म देब्रेहाते थिएँ, ऊ दाहिने । मैले खान हात उठाउँदा उसले पनि उठाउँथ्यो र दुवैको कुइना ठोक्किन्थ्यो । पहिलोपटक त मैले माफी मागेँ । फेरि रसबरी र दही खाने बेला पनि त्यस्तै भयो । उसको दही पोखिएर नाकमुखमा प¥यो । अब के हुने हो ?
हामी डराएका थियौँ । त्यसैले फटाफट खायौँ र निस्कने उपाय खोज्यौँ । हामी बीचमा परेकाले कताबाट निस्किने कन्फ्युज भएको थियो । उताउति हेर्दै बिस्तारै पछि बाहिर निस्कियौँ । त्यो घटनाबाट मैले देब्रेहाते हुनुका केही अप्ठ्यारा पनि बुझेँ । देब्रे हात चलाउनेहरू कहिल्यै पनि बीचमा बस्नु हुँदो रहेनछ ।
दुईपटक चोट लाग्यो
सन् १९९१ मा एकपटक हामी जैनकुञ्जको क्रिकेट प्रतियोगिता खेल्न गएका थियाँै । ३० ओभरको म्याचमा हाम्रो टिमलाई विपक्षीले १ सय २५ रनको चुनौती दिएको थियो । लक्ष्य पूरा गर्न मिहिनेत गर्दै थियौँ । हाम्रो पहिलो र दोस्रो विकेट छिटो खस्यो । पाँच–सात रनमै दुई विकेट पेवेलियन फर्किएपछि टिममा तनाव सुरु भइसकेको थियो । त्यो प्रेसर लिएर म चौथो नम्बरमा ब्याटिङ गर्न क्रिजमा गएको थिएँ । एउटा बललाई मैले अगाडि बढेर हान्न खोज्दा तल्लो ओठमा चोट लागेर म ढलेँ । भलभल्ती रगत बग्यो । साथीहरूले तुरुन्त गाडी मगाएर बिरला अस्पताल पु¥याए, जसलाई केलकेटा हस्पिटल पनि भनिन्थ्यो । चारवटा टाँका लगाउनु प¥यो ।
अस्पतालबाट म मैदानमै फर्किएँ । त्यतिबेलासम्ममा हाम्रो नौ विकेट गइसकेको थियो । अन्तिममा १५ रन चाहिएको थियो, ओभर बाँकी थियो । म घाइते भएकाले साथी छाड्न तयार थिए । फाइनल म्याच भएकाले मेरो मनले मानेन । जति सक्छु खेल्छु भनेर उठेँ । पहिले म ३० रनमा घाइते भएको थिएँ । पछि मैले थप १० रन बनाएपछि खेल हामीले जित्यौँ ।
नसोचेको जित हासिल गर्दा साथीहरू निकै खुसी भए । त्यो खेल जितेपछि एक जनाले खुसी भएर मलाई एक हजार भारु पुरस्कार दिएको मलाई अझै सम्झना छ ।
बाटा क्लबमा खेलिरहँदा म दोस्रोपटक घाइते भएँ । बङ्गाल नागपुर रेलवे (बीएनआर)ले केही खेलाडीलाई अल्पकालीन र दीर्घकालीन रूपमा जागिर दिन छनोट थालेको थियो । प्रशिक्षक जीवन मुखर्जीले मलाई पनि छनोटमा सहभागी हुन आग्रह गरे । म गएर पहिलो दिन बलिङ गरेँ । दोस्रो दिन मैले ब्याटिङ गर्ने मौका पाएको थिएँ । बीएनआरको क्रिज सिमेन्टमा म्याट राखेर तयार गरिएको थियो । हामीले त्यहीँ अभ्यास गरेका थियौँ ।
अरिन्दम सरकार नाम गरेका एक जना बलर थिए । उनी त्यसबेलाका चर्चित फास्ट बलर थिए । हेल्मेट अलि ठूलो थियो, त्यसैले बल आएकै नदेखिएझैँ भयो । मैले हेल्मेट खोलेर छेउमा राखेँ । हेल्मेट खोलेपछिको पहिलो बल नै म्याटको कुनामा ठक्कर खाएर अलि छड्के आयो । मैले ब्याकफुट गएर खेल्न जाँदा छल्लिएर मेरो दाहिने आँखाछेउ लाग्यो । बल लागेपछि म स्लोमोसनमा ढलेँ । धेरै नै रगत बग्यो । मलाई बिरला अस्पताल लगियो । एक वर्षमा म दोस्रोपटक बिरला अस्पताल पुगेको थिएँ । यतिबेला सातवटा टाँका लगाइयो । घरमा आउँदा सबै आत्तिएका थिए । चोट ठूलै थियो तर मैले छनोट
खेलमा अलिकति चोट लागेको भनेर ढाँटेँ । चोटकै कारण म छनोटमा परिनँ ।
छनोट नभएकामा दुःख भन्दा आँखा जोगिएकामा खुसी हुनुपर्ने भयो । त्यही चोटकै कारण दाहिने आँखाले अहिले पनि म कमै देख्छु ।
क्रमशः
(एलबी क्षेत्री नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने पहिलो पुस्ताका खेलाडी हुन् । पहिलो एसीसी ट्रफी (मलेसिया) मा टिम उपकप्तान रहेका उनले दोस्रो एसीसी (काठमाडौं) को कप्तानी सम्हाले । भारतीय शहर कोलकाताबाट क्रिकेट शुरु गरेर ए डिभिजन खेलेका क्षेत्री नेपाल आएर क्लवस्तरीय प्रतियोगिता खेल्दै १९९८ मा राष्ट्रिय टिमको कप्तान भए । उनकै नेतृत्वमा नेपालमा महिला क्रिकेटको उदय भयो । कप्तान १९९८ पुस्तकमा क्षेत्रीले अति राजनीतिले दिशाविहीन बन्न पुगेको नेपाली क्रिकेट, आफ्नो खेल जीवनका अनुभव, संघर्ष र भोगाईलाई उतारेका छन् । क्रिकेट बुझ्न चाहनेका लागि यो पुस्तक बरदान नै सावित हुने विश्वास गरेका छौ ।
क्रियटिभ बुक्सले प्रकाशन गरेको क्षेत्रीको ‘कप्तान १९९८’ पुस्तकको सहलेखन कुमार श्रेष्ठ र सम्पादन जनक नेपालले गरेका हुन् । उक्त पुस्तकको अंश प्रस्तुत गर्ने जमर्को गरेका छौं । हरेक शनिबार क्रमशः प्रकाशन हुने पुस्तक अंश पढ्नका लागि www.sunpani.com लाई लाइक गर्नुहोला । कोहीलाई यो पुस्तक चाहिएमा क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरी (९८५१०९३२३४) लाई सम्पर्क गर्न सक्नु हुनेछ ।)