सुरक्षा गोष्ठीमा युनिट प्रमुख
नेपालगञ्ज – बाँकेमा भएको सुरक्षा गोष्ठीमा युनिट प्रमुखहरुको सहभागिता भएको छ । कोभिडले गर्दा जिल्लामै सुरक्षा गोष्ठी आयोजना गरिदा युनिट प्रमुखहरुले पनि सहभागिता जनाउने मौका पाएका हुन् ।
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले उद्घाटन गर्नुभयो । मन्त्री केसीले पहिलोपटक युनिट प्रमुखहरुको सहभागितामा सुरक्षा गोष्ठी आयोजना गरिएको बताउनुभयो । ‘पहिला प्रदेश स्तरीय गोष्ठी हुन्थ्यो । त्यसमा जिल्लाका सुरक्षा प्रमुखहरुको सहभागिता हुन्थ्यो, अहिले जिल्लामै गोष्ठी गर्न शुरु गरिएको छ । यसमा युनिट प्रमुखहरुको समेत समस्याहरु बुझ्न सकिन्छ, मन्त्री केसीले भन्नुभयो, जिल्लामा कोभिडको पछिल्लो अवस्था, सबै सुरक्षा युनिटहरुको अवस्था, भौतिक संरचनाको अवस्था, विकास, अपराध, सीमाको अवस्था तथा अन्य समस्याहरुको निकास निकाल्न जिल्लामै युनिट प्रमुखहरुलाई राखेर गोष्ठी गरिएको छ ।’
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सीमा अपराधदेखि जिल्लाको समग्र सुरक्षा स्थितिका बारेमा ब्रिफिङ भएको बताउनुभयो । उहाँले हातहतियार, लागु औषध, मानव बेचबिखन, तस्करीका विषयमा खुलेर चर्चा भएको बताउनुभयो ।
गोष्ठीमा सेनाका कर्णेल नकुल थापा, नेपाल प्रहरीका एसपी ओमबहादुर राना, सशस्त्र प्रहरीका एसपी अशोक बम, अनुसन्धानका एसपी नरेन्द्र गिरी, सुरक्षा अंगहरुको युनिट प्रमुखहरुको उपस्थिति रहेको थियो ।
यसैबीच, मन्त्री केसीले शुक्रबार विहान नै नरैनापुरको अवलोकन गर्नु भएको छ ।