सम्मानका साथ अवकास दिन महिला स्वयंसेविकाको माग

नेपालगञ्ज – महिला स्वयंसेविकाहरुले स–सम्मान अवकास दिन आग्रह गरेका छन् ।
१७ औं राष्ट्रिय महिला सामुदायिक स्वयंसेविका दिवसका अवसरमा महिला स्वयंसेविकाहरुले अहिलेसम्म गरेका कामको मूल्यांकन गरेर उचित सम्मानका साथ अवकास दिन आग्रह गरेका हुन् ।
६० वर्ष कटेका महिला स्वयंसेविकालाई अवकास दिने तयारी थालिएको छ । २० हजार रुपैया दिएर अवकास दिन थालेको भन्दै महिला स्वयंसेविका आक्रोशित भएका छन् । ‘गर्भवती भएदेखि बच्चा पाँच वर्ष हुँदासम्म हामीले निगरानी गरेका छौं । पछिल्लो समयमा मातृ शिशु मृत्युदर घट्नामा हाम्रो भूमिका महत्वपूर्ण छ, महिला स्वयंसेविका नारायणी रुपाखेतीले भन्नुभयो, अहिले आएर २० हजार रुपैया दिएर अवकास दिने कुरा गर्ने ?’
कोरोना कहरका बेलामा सेनिटाइजर र मास्कसमेत नपाएको गुनासो गरेका महिला स्वयंसेविकाले कम्तीमा दुई लाख रुपैया दिएर अवकास दिन आग्रह गरेका छन् ।
महिला स्वयंसेविका नगर अध्यक्ष मनकुमारी सिलवालले अलि राम्रो सुविधा दिएर बिदाई गर्न आग्रह गर्नुभयो ।
नेपालगञ्जका उपमेयर उमा थापामगर, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाह, स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले ६० वर्ष कटेका महिला स्वयंसेविकालाई सम्मान बिदाई गरिने जानकारी दिनुभयो ।
दिवसका अवसरमा २३ वटा वडाका एक–एक जना महिला स्वयंसेविकालाई सम्मान गरिएको थियो ।
यसैबीच, बीग्रुपले महिला स्वयंसेविकालाई एक लाख ९७ हजार एक सय ६९ रुपैया बराबरको सेनिटाइजर, मास्क र ग्लोब्स सहयोग गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !