अब रेलवेको यात्रा

क्रमशः
हामी कालिघाटमा खेलिरहँदा त्यहीँको अर्को मैदानमा राजस्थान र इस्टर्न रेलवेका बीचमा खेल भइरहेको थियो । राजस्थान भनेको जगमोहन डालमियाको क्लब हो । जो पछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का अध्यक्ष हुँदै आईसीसीको पनि अध्यक्ष भए । उनी क्रिकेट एसोसिएसन बङ्गालका पनि अध्यक्ष भए । पश्चिम बङ्गालको क्रिकेटमा मात्र नभएर भारतको क्रिकेट विकास र विस्तारमा उनको ठूलो योगदान छ ।
मैले ओपनर भएर द्रुत गतिमा रन बनाएको इस्टर्न रेलवेका सीईओ अनिलकुमार गाङ्गुलीले हेरिरहेका रहेछन् । अनिलका बुबा बीके गाङ्गुली रेल बोर्डका अध्यक्ष भइसकेका थिए । बीके गाङ्गुलीको नाममा अहिले पनि बङ्गालमा महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता गराइन्छ ।
कालिघाटमा तीन–चार जना रणजी ट्रफी खेलिरहेका बलर र ब्याट्सम्यान थिए । त्यतिबेला कालिघाट चर्चित क्लब थियो । त्यसका विरुद्धमा मैले द्रुत गतिमा रन बनाएको देखेपछि सीईओ अनिलकुमारले मेराप्रति चासो देखाए ।
हाम्रा व्यवस्थापक देबु बेनर्जीसँग मेराबारेमा सोधेछन् । मलाई भेट्न पठाइदिनु भन्ने सन्देश पठाए । आउट भएर पवेलियन फर्केको थिएँ ।
व्यवस्थापक देबु बेनर्जीले भनिहाले, ‘इस्टर्न रेलवेका सीईओले तिमीलाई भेट्न चाहेका छन् । एकपटक भेट्न जाऊ ।’
मैले उनलाई त्यही मैदानमै भेटेँ ।
अनिलकुमारले नाम सोधे, मैले बताएँ ।
फेरि सोधे, ‘तिमी पञ्जावी हौ ?’
मैले बङ्गाली भाषामै भनेँ, ‘नए, आमी नेपाली ।’ (हैन । म नेपाली हुँ ।)
राम्रो बङ्गाली बोलेको देखेर उनले आश्चर्य मान्दै भने, ‘नेपालीजस्तो
देखिँदैनौ त !’
मैले बाल्यकालदेखि नै बङ्गालमा बसेको र यतै हुर्केको बताएँ । उनको
जिज्ञासा सकिएनछ । फेरि सोधे, ‘नेपाली भएर मार्सल आर्ट, बक्सिङ नखेलेर
कसरी क्रिकेट खेल्न आयौ ?’
मैले त्यसको देन पनि कोलकाताको बाल्यकाललाई दिएँ ।
बल्ल उनी सन्तुष्ट भए, ‘वेल डन ।’
अनिलकुमारले आफ्नो सम्पर्क नम्बर दिएर एक हप्तापछि कार्यालयमा भेट्न बोलाए । उनको क्रिकेटमा ठूलो नाम थियो । म यस्तै व्यक्तिको नजिक पुग्न चाहन्थेँ । मौकाले त्यो अवसर जुर्दै थियो । फोन गरेर म निर्धारित समयमै उनको कार्यालयमा पुगेँ ।
म रेलवेका लागि कुरा गर्न पुगेको थिएँ । उनले झन् ठूलो अफर दिँदै भने, ‘म मेट्रो रेलवेमा जाँदैछु । त्यहाँ मैले टिम बनाउँदैछु । त्यहाँ तिमीलाई अनुबन्ध गर्ने इच्छा छ ।’
मेट्रो रेलवे भारतको पहिलो अन्डरग्राउन्ड रेलवे हो । उनले मेरो पारिवारिक पृष्ठभूमि र पढाइको निरन्तरताबारे पनि चासो राखे । मैले बेलगाछियामा दुई वर्ष, बाटामा पहिलो वर्ष खेलेको अनुभव सुनाएँ । सिजनको अन्त्य भइसकेको थियो । बङ्गालमा सेकेन्ड डिभिजन र अफिस लिग म्याच हुन्थे । प्रतिष्ठित
संस्थाहरू जस्तै इस्टर्न रेलवे, एलआईसी, वीएनआर, पोर्ट ट्रस्ट, स्टेट बैंक अफ इन्डिया, सेन्ट्रल एक्साइज पनि क्रिकेटमा स्पर्धा गर्ने भएकाले खेलाडीलाई रोजगारी दिएर अनुबन्ध गर्थे । खेलाडीहरू पनि निकै मन दिएर खेल्थे । यसले गर्दा बङ्गालसहित समग्र भारतमा खेलको विकास भएको थियो ।
भेटको अन्त्यमा अनिलकुमारले भने, ‘१५ दिनपछि आएर भेट्नू । तबसम्म म मेट्रो रेलवे ज्वाइन गरिसक्छु ।’ नभन्दै उनी मेट्रोको चिफ इन्जिनियर नियुक्त भए । यो १५ दिन मेरा लागि निकै कौतूहलपूर्ण रह्यो । ठूलो अवसरले मलाई पर्खिरहेजस्तो लागिरहेको थियो । के गरौँ र कसो गरौँ भइरहेको थियो । मनमा एक खालको छटपटी थियो ।
नेताजी सुभाष इन्स्टिच्युटले बङ्गालको ‘बी’ डिभिजन लिग खेल्थ्यो । ‘बी’ डिभिजन प्रतियोगितामा त्यो राम्रो टोली मानिन्थ्यो । यो रेलवेकै टिम थियो । नेताजी सुभाष इन्स्टिच्युटलाई ‘ए’ डिभिजनमा उठाउन अनिलकुमारले विशेष चासो दिएका थिए । उनी राम्रो टिम बनाउने सोचिरहेका थिए । मलाई क्लब लेभलको खेल नेताजी सुभाष इन्स्टिच्युटबाट खेल्नुपर्ने र अफिसियल म्याच मेट्रोबाट खेल्नुपर्ने प्रस्ताव राखियो । यसको अर्थ दुवै खाले प्रतियोगिता खेल्नुपर्ने भयो । अफिसियल प्रतियोगिता भनेको कर्मचारीहरूले खेल्नु पथ्र्यो । म व्यावसायिक क्रिकेटमा जोड दिइरहेको थिएँ । क्लब क्रिकेट नै मेरो प्राथमिकता थियो । अफिसियल प्रतियोगिता भनेको कर्मचारी खेल्ने प्रतियोगिता । यस्ता प्रतियोगिता व्यावसायिक खेलाडीका लागि खासै अर्थका हुँदैनन् । तर, रेलवेको आन्तरिक प्रतियोगिता आफैँमा ठूलो हुन्थ्यो । प्रतियोगिता जित्न रेलवेका टिमहरूले राम्रा खेलाडी अनुबन्ध गर्थे । चर्चित क्रिकेटर महेन्द्रसिंह धोनीलगायत तमाम क्रिकेटरले रेलवेबाट यस्ता प्रतियोगिता खेलेका छन् । सायद त्यही भएर पनि हो कि अनिलकुमारले सुरुमै यो सबै मलाई बुझाए । उनले दुवै टिमबाट खेल्दा हुने फाइदाका बारेमा पनि बेलिविस्तार लगाए ।
त्यसका लागि मासिक तीन हजार रुपैयाँ दिने गरी अनुबन्ध गर्ने प्रस्ताव गरे । यसअघि मैले सिजनको २० हजार लिएर खेलिरहेको थिएँ । रेलवेमा मासिक ३ हजार मेरा लागि ठूलो थियो । स्थायी जागिर पनि हुन्थ्यो । तर, व्यावसायिक क्रिकेटमा ‘ए’ डिभिजन खेलिरहेको हुँदा ‘बी’ डिभिजनमा खेल्न कता–कता मनले मानिरहेको थिएन । किनभने, यतिबेलासम्म रेलवेको सुभाषचन्द्र इन्स्टिच्युट ‘बी’ डिभिजनमै थियो । ‘ए’ डिभिजन उक्लिनका लागि सङ्घर्षरत थियो । अनिलकुमार जतिसक्दो चाँडो रेलवेको सुभाषचन्द्र इन्स्टिच्युटलाई ‘ए’ डिभिजनमा लैजान चाहन्थे । जागिरको प्रलोभन देखाएर रेलवेले राम्रा खेलाडी अनुबन्ध गरिरहेको थियो । मलाई भने दोधार भइरहेको थियो । मैले निर्णय लिन समय मागेँ । उनले सोचेर निर्णय लिन आग्रह गर्दै छुट्टिने बेला भनेका थिए, ‘सोचविचार गरेर चाँडै निर्णय देऊ । यो तिम्रा लागि राम्रो अवसर हो भन्ने नभुल्नू ।’
हप्तौँदेखिको छटपटी उनलाई भेटेपछि दोधारमा परिणत भएको थियो । निर्णय लिनुअघि मैले आफ्ना गुरुहरूसँग परामर्श गर्ने निधो गरेँ । त्यसभन्दा पहिले रेलवे जानुअघि बाटा स्पोर्ट्स क्लबलाई औपचारिक जानकारी दिनु मेरो दायित्व र कर्तव्य हुन्थ्यो । बाटा सोरुममा गएर मैले बनर्जी दालाई भेटेँ ।
उनलाई रेलवेले गरेको प्रस्तावबारे बताएँ । तलब, सेवा सुविधा राम्रो दिने भएको हुँदा आफू रेलवे जान इच्छुक रहेको पनि भनेँ । बेनर्जी दा मेरा कुरा सुनेर अलिक दुःखी भए । उनी मलाई बाटा स्पोर्ट्स क्लबमै राख्न चाहन्थे ।
उनी मेरो प्रदर्शनबाट निकै प्रभावित थिए । उनले मलाई सम्झाउँदै भने, ‘तिम्रो डिमान्ड हाम्रो क्लबले नै पूरा गरिदिन्छ । किन रेलवे जान्छौ ?’ उनले मलाई सम्झाउन अनेक प्रयत्न गरे । तर, मैले क्लब परिवर्तन गर्ने निर्णय लिइसकेको थिएँ । साबिक क्लबलाई औपचारिक जानकारी दिन मात्र मैले उनलाई भेटेको थिएँ । यसअघि पनि बेलगाछिया युनाइटेड छाडेर बाटा आउँदा पनि मैले बेलगाछियाका अधिकारीसँग सौहाद्र्रपूर्ण वातावरणमा परामर्श गरेको थिएँ । ठोस निर्णयका लागि मैले वाईके चौधरीसँग भेट्नुपर्ने थियो । मैले उनलाई वाईके भाइ भनेर बोलाउने गर्थें ।
मलाई क्रिकेटमा प्रवेश गराउने व्यक्तित्व उनै वाईके भाइ थिए । उनीसँग मेरो आत्मीय सम्बन्ध छ, उनले थुप्रै ठाउँ क्रिकेट खेल्न लगेका छन् । उनकै प्रारम्भिक सहयोगका कारण खिदिरपुर क्षेत्रमा मैले चर्चा कमाएको थिएँ । अफ सिजनमा पैसा लिएर अन्य क्लबबाट पनि खेल्न गइरहन्थेँ । वाईके भाइले पनि मलाई यसमा सहजीकरण गरिदिन्थे । उनीसँग मेरो नियमित सम्पर्क थियो ।
त्यही दोधारकै बीचमा एक दिन मैले वाईके भाइलाई भेटेँ । उनी पनि इस्टर्न रेलवेमा जागिरे भइसकेका थिए । मैले वाईके दाइलाई रेलवेको अफरबारे सुनाएँ । उनले सोच्दै नसोची जवाफ दिइहाले, ‘एके गाङ्गुलीले जे भन्छन्, त्यही गर्नू ।’ रेलवे टिममा आबद्ध हुँदा सामाजिक सुरक्षा हुनेतर्फ सङ्केत गर्दै उनले
भनेका थिए, ‘तिम्रो जीवन सुरक्षित हुन्छ भने फस्ट डिभिजन र सेकेन्ड डिभिजनको कुराले फरक पर्दैन ।’
सबैको सल्लाह रेलवेसँग आबद्ध हुनु नै राम्रो भन्ने रह्यो । तीन वर्ष फस्ट डिभिजन खेलिसकेको खेलाडी सेकेन्ड डिभिजन खेल्नुपर्ने भयो । नेताजी सुभाषको टिम कतिपय फस्ट डिभिजन टिमभन्दा राम्रो थियो । दुर्भाग्यवस ! ऊ फस्ट डिभिजनमा जान सकेको थिएन । मैले अनिलकुमार सरलाई निर्धारित समयमै निर्णय सुनाएँ, ‘रेलवेमा ज्वाइन गर्न तयार छु ।’
मेट्रो रेलवेको टिम बन्यो । बाटा क्लबबाट खेल्ने अदिप्त मुखर्जी पनि रेलवेमै आए भने उदयभानु बनर्जी पनि नेताजी सुभाष इन्स्टिच्युटका लागि अनुबन्धित भए । मेट्रो रेलवेमा जागिर पाइने आशले पनि हामी आएका थियौँ ।
दुई वर्ष मैले नेताजी सुभाष इस्न्टिच्युटबाट खेलँे । मेट्रो रेलवेबाट अफिस लिग पनि खेलेँ । सन् १९९१÷९२ को सिजनमा मासिक तीन हजार भारु पाएँ । त्यस्तै, सन् १९९२÷९३ सिजनमा तलब बढेर मासिक चार हजार भारु पु¥याइयो ।
क्रमशः

(एलबी क्षेत्री नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने पहिलो पुस्ताका खेलाडी हुन् । पहिलो एसीसी ट्रफी (मलेसिया) मा टिम उपकप्तान रहेका उनले दोस्रो एसीसी (काठमाडौं) को कप्तानी सम्हाले । भारतीय शहर कोलकाताबाट क्रिकेट शुरु गरेर ए डिभिजन खेलेका क्षेत्री नेपाल आएर क्लवस्तरीय प्रतियोगिता खेल्दै १९९८ मा राष्ट्रिय टिमको कप्तान भए । उनकै नेतृत्वमा नेपालमा महिला क्रिकेटको उदय भयो । कप्तान १९९८ पुस्तकमा क्षेत्रीले अति राजनीतिले दिशाविहीन बन्न पुगेको नेपाली क्रिकेट, आफ्नो खेल जीवनका अनुभव, संघर्ष र भोगाईलाई उतारेका छन् । क्रिकेट बुझ्न चाहनेका लागि यो पुस्तक बरदान नै सावित हुने विश्वास गरेका छौ ।
क्रियटिभ बुक्सले प्रकाशन गरेको क्षेत्रीको ‘कप्तान १९९८’ पुस्तकको सहलेखन कुमार श्रेष्ठ र सम्पादन जनक नेपालले गरेका हुन् । उक्त पुस्तकको अंश प्रस्तुत गर्ने जमर्को गरेका छौं । हरेक शनिबार क्रमशः प्रकाशन हुने पुस्तक अंश पढ्नका लागि www.sunpani.com लाई लाइक गर्नुहोला । कोहीलाई यो पुस्तक चाहिएमा क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरी (९८५१०९३२३४) लाई सम्पर्क गर्न सक्नु हुनेछ ।)


error: यो सुविधा उपलब्ध छैन !