पहिलो कमाइबाट आमालाई सारी
क्रमशः
सन् १९८९-९० को सेसनमा पनि बेलगाछिया युनाइटेड क्लबले मलाई अनुबन्ध ग¥यो । यसपटक भने मैले पैसा पाउने भएँ । सिजनभर खेल्न बेलगाछियाले १० हजार रुपैयाँ र किट ब्याग दियो । आउने–जाने भाडा पनि दियो । मैले पारिश्रमिक र सुविधासहित खेल्न थालेको यो नै पहिलोपल्ट थियो ।
भारतको फस्ट डिभिजनबाट क्रिकेट खेल्ने म एक्लो नेपाली थिएँ । होम ट्युसनबाट पाकेट खर्च चलाइरहेको मेरा लागि १० हजार रुपैयाँ ठूलो रकम थियो । म निकै उत्साहित भएँ, छुट्टै अनुभूति भइरहेको थियो । बुबा हुनु हुन्थेन, त्यसैले जिम्मेवारी सबै आफ्नै काँधमा थियो । क्रिकेटको पारिश्रमिक बुझेको दिन हर्षले मेरा आँखा रसाएका थिए ।
पहिलो कमाइबाट के किन्ने ? मैले आमालाई सम्झेँ । अनि, सुटुक्क कपडा पसल छिरेर एउटा सारी किनेर लगेँ । घरपरिवारका लागि दही र मिठाई किनेर ल्याएँ । आमाले सोध्नुभो, ‘कहाँबाट पैसा पाइस् र सारी किनिस् ?’
मैले क्रिकेटबाट कमाएको भनेँ । आमा सधैँ पढेर जागिर खानुपर्छ भन्नुहुन्थ्यो । थुप्रैपटक सम्झाउनु हुन्थ्यो, ‘खेलेर के हुन्छ ? न पैसा, न कमाइ !’ क्रिकेट खेलेर पैसा पाएको थाहा पाउँदा आमा खुसी हुनुभयो । ‘अझै राम्रो गरेस्’ भन्दै आशीर्वाद दिनुभयो । मैले मनमनै भगवान्लाई सम्झेँ । साँच्चै, त्यो मेरा लागि अद्भुत क्षण थियो ।
त्यस वर्ष मैले नकआउट र दुईदिने लिग खेलेँ । त्यतिबेलासम्म बीएसस्सी परीक्षा दिइसकेको थिएँ । पढाइप्रति दाइहरूको चिन्ता थियो । पहिलोपटक पारिश्रमिक र सुविधासहित अनुबन्ध भएकै बेलादेखि मैले आफूलाई अलराउन्डरको रूपमा विकास गरेँ । बलिङ र ब्याटिङ दुवैमा राम्रो प्रदर्शन गरेँ ।
नकआउट म्याचमा मैले कुमार टोलीको विरुद्धमा २० रन दिएर तीन विकेट पनि लिएँ । म्याच पनि हामीले नै जित्यौँ । यो जितमा मेरो मुख्य भूमिका रह्यो । फ्रेन्ड्स स्पोर्टिङ युनियनको विरुद्धमा ४५ रनको नटआउट पारी पनि खेलेँ । यो म्याच पनि हामीले जित्यौँ । तपन मेमोरियलविरुद्ध खेल्दा पनि नटआउट ६८ रन बनाएँ ।
पहिलो वर्ष मैले कुमार टोलीसँग बलिङ राम्रो गरेँ । ६ विकेट लिएको थिएँ । दोस्रो वर्ष खेल्दा ब्याटिङमा राम्रो खेलेर ६५ रन बनाएँ । यो म्याच घरेलु मैदानमा भएको थियो । यी खबर त्यतिबेलाका भारतीय पत्रपत्रिकामा छापिन्थे ।
पत्रिकामा नाम आउँदा निकै खुसी लाग्थ्यो । मेरो व्यवहार र अभ्यासमा मिहिनेत देखेर क्लबका पदाधिकारी खुसी थिए । बाहिरको मान्छे भनेर कहिल्यै नराम्रो व्यवहार गरिएन । अध्यक्ष अरुण मित्रा र सेक्रेटरी शेखर दासले निकै मन पराएका थिए । टिम व्यवस्थापक गौतम दा पनि अति राम्रो भन्थे । मलाई युनिभर्सिटीको टिममा छनोट गराउन गौतम दाको ठूलो भूमिका थियो । उनैले स्पोर्ट्स विभागलाई भनेका रहेछन्, ‘नेपाली केटा भए पनि राम्रो छ । हाम्रो क्लबबाट खेलिरहेको छ । मिहिनेती छ ।’
गौतम दाको व्यवहार, सहानुभूति र मायालाई मैले अहिले पनि मनमस्तिष्कमा सजाएर राखेको छु । हृदयदेखि कृतज्ञ छु ।
बाटा क्लबको यात्रा
बेलगाछिया क्लब स्थानीय तहमा अब्बल मानिन्थ्यो । तर, त्यहाँ यसभन्दा राम्रा क्लब पनि थिए । ती क्लबले बेलगाछियाका खेलाडीमा आँखा लगाउँथे ।
सन् १९८९-९० कै कुरा हो, बाटा स्पोटर््स क्लबका म्यानेजर देबु बेनर्जीले मेरो खेल हेरेका रहेछन् । बेनर्जीले एक दिन हाम्रा प्रशिक्षक मुनब्बर सरसँग चासो देखाएछन्, ‘देब्रेहाते केटाको खेल्ने शैली र क्षमता राम्रो छ ।’
उनीहरूलाई बायाँहाते स्पिनर बायाँहाते ब्याट्सम्यान चाहिएको रहेछ । मुनब्बर सरसँग बेनर्जी दाले त्यतिबेला नै अर्को वर्षका लागि मलाई उनको क्लबमा पठाउन भनेका रहेछन् । उनले मलाई भेटेरै बाटा क्लबमा आउन अफर गरे । पारिश्रमिक दोब्बर थियो, २० हजार नगद, किट ब्याग र आउनेजाने भाडा । यो पनि नकआउट र दुईदिने लिग म्याचका लागि थियो ।
सन् १९९०÷९१ को सिजन मैले बाटाबाट खेल्ने भएँ । स्तरीय क्लबले अफर गर्नु र बढी पारिश्रमिकमा अनुबन्ध हुन पाउनु मेरा लागि अर्को सफलताको खुड्किलो थियो । बेलगाछिया युनाइटेड क्लबप्रति मेरो लगाव अलग्गै थियो । क्लबले धेरै माया दिएर मेरो करिअर हुर्काएको थियो । एक हिसाबले भन्ने हो भने मलाई व्यावसायिक खेलाडी बनाएकै बेलगाछियाले हो । बेलगाछियाका अध्यक्ष अरूण मित्रासँग सेक्रेटरी शेखर दासले बाटा क्लबको अफरबारे कुरा गरेछन् । एक दिन मलाई क्लबमा बोलाएर भने, ‘तिमी ठूलो क्लबमा जाँदैछौ, जाऊ ।’
सेक्रेटरी शेखर दासले आफ्नै हातले लेखेर मलाई बेलगाछिया युनाइटेडको सर्टिफिकेट उपलब्ध गराए । खेलाडीप्रति उनीहरूको विशाल हृदय देखेर म प्रसन्न भएँ । मेरो घर दक्षिणतर्फ थियो, म आउनु पथ्र्यो उत्तरमा । त्यो पनि बेलगाछियाबाट टाढा । बाटा स्पोर्ट्स क्लब बीचको धर्मोतलामा पथ्र्यो । यो ठाउँलाई अङ्ग्रेजहरूले इसप्लानेड नाम राखे । पछि बङ्गाली भाषामा यसलाई धर्मोतला भनियो । अहिले पनि त्यसलाई कसैले धर्मोतला त कसैले इसप्लानेड भन्छन् । यो कोलकाताको मध्यभाग अर्थात् मुटु भनेमा कुनै अतिशयोक्ति नहोला । मुख्य बजार, सिनेमा हलले सधैँ भीडभाड हुन्छ । बाटामा अनुबन्ध हुँदा मैले राम्रो क्लब, पारिश्रमिक र सुविधा मात्र पाएको थिइनँ, दैनिक दौडधुपको दूरी पनि झन्डै आधा छोट्टिएको थियो ।
ग्रान्ड ओबेराय होटलको तल बाटा स्पोटर््स हाउस थियो । बेनर्जी दा त्यहाँको इन्चार्ज थिए । कोलकातामा बाटाको यो सबैभन्दा ठूलो सोरुम थियो । सन् १९९० को सेप्टेम्बर ७ तारिख म बाटाको सोरुममा पुगेँ । क्लब ट्रन्सफर गर्दा छोडेको र लिएको दुवै क्लबको सहमति चाहिन्छ । मैले नयाँ क्लबमा
आफ्नो नाम रजिस्टर गराएँ ।
मेरो अर्को यात्रा बाटा क्लबबाट सुरु भयो । हस्ताक्षर गरेकै दिन पाँच हजार, क्याम्प सुरु हुँदा अर्को पाँच हजार र बाँकी १० हजार खेल हुँदा दिने भनियो । उदयभानु बेनर्जीको क्याप्टेनसिपमा बाटाको टिम बन्यो । रणजी ट्रफी र पूर्वी क्षेत्रबाट खेलिसकेका उदयभानु, बङ्गालका सुनील गावस्कर भनेर चिनिन्थे । दुर्गा पूर्जाअगाडि क्याम्प सुरु भयो । प्रशिक्षक थिए, जीवन मुखर्जी । उनलाई सबैले जीवन दा भन्थे । उनको जागिर बङ्गाल नागपुर रेलवेमा थियो । उनी आफैँ पनि रणजी ट्रफी खेलिसकेका खेलाडी थिए ।
दसैँपछि हाम्रो अभ्यास सेसन सुरु भयो । अभ्यास सुरु हुनासाथ खेलाडीले थप पाँच हजार पारिश्रमिक र किट ब्याग पाए । त्यसमा एक जोर बलिङ, ब्याटिङ जुत्ता, पावर कम्पनीको ब्याट र दुई–दुई जोर कपडा थिए । मैले त्यतिबेला उदयभानु दा, अदिप्त मुखर्जी, गौतम मुखर्जीजस्ता खेलाडीसँग खेल्ने मौका पाएँ ।
ठूला खेलाडीसँग खेल्न पाउँदा निकै खुसी लाग्थ्यो । अभ्यासका दौरानमा मैले उदयभानुसँग धेरै प्राविधिक कुरा सिकेँ । उनी बङ्गालमा चर्चित थिए । सालिन र भव्य व्यक्तित्व ।
सेसन सुरु भयो, मेरो प्रदर्शन राम्रै भयो । पहिलो र दोस्रो म्याच खेलँे । तेस्रो र चौथो म्याच खेलाइएन । सबै खेलाडी एक से एक थिए । त्यसैले म नपरेको पनि हुन सक्छु । क्याप्टेन उदय दाको जोडबलले फेरि मैले पाँचौँ र छैटौँ म्याच खेलँे ।
प्रतियोगिताका दौरान मैले एकपटक ओपनरको जिम्मेवारी पनि पाएँ । कालिघाट मैदानमा उसकै विरूद्धमा ओपनर भएर गएँ । १४ बलमा ३७ रन बनाएँ । स्क्वायर कट र कभर ड्राइभ मेरा मन पर्ने सट थिए । स्क्वायर कट र कभर ड्राइभबाट नै मैले धेरै रन बटुलेँ ।
बाटाबाट खेल्दा मैले योङ बङ्गालविरुद्धमा ४५ रन बनाएँ । टाउनसँग खेल्दा ६९ रन बटुलेँ, अदिप्त मुखर्जीले ६३ रन बनाए । बानी निकेतनसँग खेल्दा ८८ रनको योगदान दिएँ, अदिप्त ले ६६ रन बनाए । मेरो र अदिप्तको राम्रो प्रदर्शन हुँदा हामीले खेल जित्यौँ ।
अदिप्त मुखर्जीसँग मेरो निकै राम्रो सम्बन्ध बन्यो । उनलाई हामी काला भनेर बोलाउने गथ्र्यौं । अहिले उनी बङ्गालको ‘ए’ लेभलका अम्पायर र रेलवेमा जागिरे छन् । उनी भन्थे, ‘नेपालीको बच्चा पनि राम्रो क्रिकेट खेल्न सक्छ भनेर तिमीले प्रमाणित ग¥यौ ।’ म हाँसिदिन्थेँ । कसैले नेपाली भनेर प्रशंसा गर्दा सधैँ मलाई तिनै बङ्गाली केटाहरूको याद आउँथ्यो, जसले बहादुरले पनि क्रिकेट खेल्छ भनेर उडाउँथे ।
क्रमशः
(एलबी क्षेत्री नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने पहिलो पुस्ताका खेलाडी हुन् । पहिलो एसीसी ट्रफी (मलेसिया) मा टिम उपकप्तान रहेका उनले दोस्रो एसीसी (काठमाडौं) को कप्तानी सम्हाले । भारतीय शहर कोलकाताबाट क्रिकेट शुरु गरेर ए डिभिजन खेलेका क्षेत्री नेपाल आएर क्लवस्तरीय प्रतियोगिता खेल्दै १९९८ मा राष्ट्रिय टिमको कप्तान भए । उनकै नेतृत्वमा नेपालमा महिला क्रिकेटको उदय भयो । कप्तान १९९८ पुस्तकमा क्षेत्रीले अति राजनीतिले दिशाविहीन बन्न पुगेको नेपाली क्रिकेट, आफ्नो खेल जीवनका अनुभव, संघर्ष र भोगाईलाई उतारेका छन् । क्रिकेट बुझ्न चाहनेका लागि यो पुस्तक बरदान नै सावित हुने विश्वास गरेका छौ ।
क्रियटिभ बुक्सले प्रकाशन गरेको क्षेत्रीको ‘कप्तान १९९८’ पुस्तकको सहलेखन कुमार श्रेष्ठ र सम्पादन जनक नेपालले गरेका हुन् । उक्त पुस्तकको अंश प्रस्तुत गर्ने जमर्को गरेका छौं । हरेक शनिबार क्रमशः प्रकाशन हुने पुस्तक अंश पढ्नका लागि www.sunpani.com लाई लाइक गर्नुहोला । कोहीलाई यो पुस्तक चाहिएमा क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरी (९८५१०९३२३४) लाई सम्पर्क गर्न सक्नु हुनेछ ।)