केटीहरूले कपाल तान्थे

क्रमशः
सन् १९८९ मा क्लब क्रिकेट खेलिरहँदा मैले बङ्गोबासी मर्निङ कलेजबाट पनि खेल्ने मौका पाएँ । बङ्गोबासी कलकत्ता युनिभर्सिटी कपमा भाग लिँदै थियो । खेल्न इच्छुक सबैलाई कलेजको क्याम्पमा बोलाइयो । म पनि गएँ र छनोट भएँ । छनोटका लागि ५० खेलाडी पुगेका थिए । तीमध्ये २० जना छानिए । १४ जना खेल्ने र ६ जना रिजर्व थिए । कलेजबाट पहिलोपटक छनोट हुँदै मलाई क्याप्टेनको जिम्मेवारी दिइयो ।
म आफ्नो कक्षाको सबैभन्दा कान्छो विद्यार्थी थिएँ, भर्खर १८ वर्षको । अलि लजालु पनि थिएँ । तर, क्रिकेट राम्रो खेल्ने भएकाले सबैले मलाई माया गर्थे । म यति लजालु थिएँ कि केटी साथीहरूले जिस्क्याएर हैरान पार्थे । पछाडि बेन्चका केटीहरूले जिस्क्याउँदा मैले वास्ता नगरेझैँ गरिदिन्थेँ ।
लाजले कान राता र ताता हुन्थे । म लजाएको देखेर उनीहरू झन् जिस्क्याउन थाल्थे । जति बोलाए पनि नबोलेपछि कपाल तान्थे । ‘हेलो ओ क्षत्री, ओ क्षत्री’ भन्दै मस्किन्थे । मेरो कपाल अलि हिप्पी टाइपको थियो ।
चलन पनि हिप्पी टाइपकै थियो । मिथुन चक्रवर्ती, अमिताभ बच्चन, विनोद खन्नाको जस्तो कपाल पाल्ने लहर चलेको थियो । मैले पनि त्यही स्टाइल पछ्याएको थिएँ । क्याप्टेन भएपछि कलेजमा मेरो छुट्टै सान भयो । जिस्क्याउने केटीहरू झन् नजिकिन थाले ।
म कलेजमा धेरै बोल्दैनथेँ । कलेज सकिनासाथ खेल्न कुदिहाल्थेँ । त्यही मेरो लक्ष्य थियो, त्यही दैनिकी । ट्युसन पढाएर फर्केपछि पनि सीधै मैदानमा पुग्थेँ । आफूलाई भ्याइनभ्याइ छ तर केटीहरू भने जिस्क्याएरै हैरान पार्थे । त्यो सबै मलाई मन परेको छैन भन्ने पनि उनीहरूलाई थाह थियो । तैपनि, पिछा छोडेनन् । दिनदिनै कति रातोपिरो भइरहने ? सर र म्याडमलाई कुरा लगाएर छुटकारा पाउने निधोमा पुगेँ । एक जना सेन म्याडम थिइन् । उनी हामीलाई वनस्पति विज्ञान पढाउँथिन् । अलि कडा मिजासकी । उनैलाई भनेपछि समस्या समाधान होला भन्ने ठानेर भनिदिएँ । सेन म्याडमले केटीहरूलाई हप्काइन्, ‘किन डिस्टर्व गर्छौ ?’
त्यसपछि पनि केटीहरूले जिस्क्याउन छोडेनन् । ‘तिमी क्याप्टेन भयौ । हामीलाई नास्ता खुवाउँदैनौ ?’ केटीहरू भन्थे । अब म पनि बोल्न थालेँ । भनिदिएँ, क्याप्टेनले खुवाउने कि क्याप्टेनलाई ? उनीहरूले नास्ता खुवाए । त्यसपछि मैले बुझेँ, केटीहरूसँग नबोलेर भाग्नुभन्दा दोस्ती गर्नुमै फाइदा रहेछ ।
बङ्गोबासी मर्निङ कलेजले पहिलोपटक विश्वविद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको थियो । हामी तीनवटा कलेजलाई हराएर सेमिफाइनलमा पुग्यौँ । सेमिफाइनलको प्रतिद्वन्द्वी भने बलियो थियो । रवि श्राफले कप्तानी सम्हालेको भवानीपुर कलेजसँग हामी पराजित भयौँ । उनले बङ्गाल टिमबाट यु–१९ खेलिसकेका थिए । बङ्गोबासी कलेजमा सञ्जय गुरुङ विकेटकिपर थिए । उनलाई मैले नै
कलेजमा खेल्न ल्याएको थिएँ । उनी रूपन्देहीका हुन् । उनी त्यसबेला सेकेन्ड डिभिजन क्रिकेट खेल्थे । पछि उनी नेपालको राष्ट्रिय टिममा मसँगै खेले ।
अहिले अन्तर्राष्ट्रिय अम्पायर छन् । र, मेरा आत्मीय मित्र पनि । कलकत्ता युनिभर्सिटीको प्रतियोगितापछि अल इन्डिया युनिभर्सिटीका लागि खेलाडीको प्रारम्भिक छनोट भयो । सुरुआती ४० जनामा म पनि परेँ । यो मेरा लागि शौभाग्य थियो । ४० बाट २५ जना छनोट हुँदा पनि म परेँ । २५ जनामा एकदमै कडा प्रतिस्पर्धा भयो । कोही कोहीभन्दा कम थिएनन् । म त एक वर्ष मात्र फस्ट डिभिजन खेलेको थिएँ । कोचिङ सेन्टरमा गएको र एक वर्ष मात्र फस्ट डिभिजन खेलेको मेरो ब्याकग्राउन्ड थियो । अरू धेरैजसो वर्षौंदेखि फस्ट डिभिजन खेलेका खेलाडी थिए ।
कडा प्रतिस्पर्धाका बीच म १५ जनाको टोलीमा परेँ, युनिभर्सिटीको टिममा परेँ । बिहारको दरभङ्गा युनिभर्सिटीको आतिथ्यमा भएको प्रतियोगिता हामीले खेल्यौँ । हाम्रो टोली दोस्रो म्याचमा आसामको युनिभर्सिटीसँग पराजित भयो ।
पहिलो र दोस्रो म्याचमा मेरो प्रदर्शन राम्रो थियो । पहिलो म्याचमा तीन विकेट लिएँ, दोस्रोमा दुई विकेट लिएँ । दोस्रो म्याचमा गलत क्याप्टेनसिपले गर्दा हामीले हार बेहोर्नु परेको थियो । युनिभर्सिटी टिम राम्रो हुँदाहुँदै पनि हामीले त्यस अनुसार प्रदर्शन गर्न सकेनाँै । पछि बुझ्दा हाम्रो युनिभर्सिटीमा केही राम्रा खेलाडी पाखा लगाइएको रहेछ । सोर्सफोर्सका आधारमा दुई जना थपिँदा टिम कमजोर भएको थियो । कलकत्ता युनिभर्सिटीबाट खेल्नु भनेकै कुनै जागिरको पहिलो खुट्किलो मानिन्थ्यो । जागिर खानुअघि नै त्यहाँ सोधिन्छ, आर यु युनिभर्सिटी ब्लु ? त्यही भएर युनिभर्सिटीको टिममा पर्नु ठूलो कुरा थियो ।
यस दौरानमा मैले विभिन्न प्रकारका स्थानीय प्रतियोगिता खेलिरहेँ । प्लेयर अफ म्याच, मेडल, पुरस्कारहरू पाइरहेँ । वाईके चौधरीले मलाई ठूलठूला खेलाडीहरूसँग भेट गराइदिए । अरेन्दम दास, समरन वनर्जी, स्नासिस गाङ्गुली, अशोक मलहोत्रा, अभितामो दास, जयन्तो घोष र त्यसबेला नाम चलेका बायाँहाते स्पिनर उत्पल चटर्जी र अरुण भट्टाचार्यजस्ता खेलाडीसँग खेल्ने मौका पाएर म त्यसै दङ्ग थिएँ ।
मैले मोहम्मडन स्पोर्टिङ क्लबका तर्फबाट दिल्लीमा गएर पनि धेरै प्रतियोगिता खेलेँ । अफ सिजनमा हामी मोहम्मडन स्पोर्टिङ क्लबका तर्फबाट बाहिर खेल्न जान्थ्यौँ । कहिले दिल्ली, कहिले बैङ्गलोर जान्थ्यौँ । बङ्गालको लिगमा चाहिँ हामी जुन टिमसँग अनुबन्ध हुन्थ्यौँ, त्यहीँबाट खेल्थ्यौँ । बाहिर खेलिरहेकाले मेरो मनोबल झन् उच्च बन्दै गएको थियो । दिल्लीमा मैले हिन्दु कलेज, करोडीमल कलेज, राजधानी कलेज, स्टेसन कलेजजस्ता सशक्त र तारकसिन्हाको क्रिकेट कोचिङ सेन्टरसँग खेलेँ । तीमध्ये कतिपय मैत्रीपूर्ण थिए, कतिपय स्थापित प्रतियोगिता थिए ।
प्रथम लिग
सन् १९८८-८९ को नोभेम्बरमा मैले फस्ट डिभिजन क्रिकेट लिग खेलेँ । पहिलो खेल कुमार टोलीसँग थियो । त्यो दुईदिने लिगमा हाम्रो टिमले ६ विकेट गुमाएर २ सय ९९ रन बनायो । कुमार टोलीलाई हामीले १ सय ८५ रनमा अलआउट ग¥यौँ । ५२ रन दिई ६ विकेट लिएर मैले उत्कृष्ट बलिङ गरेको थिएँ । हाम्रो टोलीले पहिलो म्याचमा दुई प्वाइन्ट पायो भने कुमार टोलीले एक प्वाइन्ट । यो नै मेरो जीवनको पहिलो म्याच, जहाँ मेरो उत्कृष्ट प्रदर्शन रह्यो । पहिलो सिजन सफल भएकामा म भित्रभित्रै गदगद थिएँ ।
झन् भारतको प्रतिष्ठित पत्रिका ‘द स्टेटमेन’को स्पोटर््स पृष्ठमको पहिलो पङ्क्तिमै मेरो नाम र म्याचबारे समाचार प्रकाशित भयो । आज पनि त्यो पेपरकटिङ मसँग सुरक्षित छ । सन् १९८९ मा क्यानोपी ट्रफी खेल्न म बैङ्गलोरको सिनियर टिममा छनोट भएँ । मोहम्मडनको सिनियर टिमको क्याप्टेन वाईके चौधरी थिए ।
जुनियर टिमको क्याप्टेन सफिक अहमद थिए, पछि उनले बङ्गालबाट रणजी ट्रफी खेले । अहिले उनी कोलकाताको इडेन गार्डेन्सको क्युरेटरमा आबद्ध छन् । साथै, आफ्नो इन्सपिरेसनल क्रिकेट एकेडेमी पनि चलाउँछन् ।
नौसाद अख्तर, हम्जा फिरोजीले पनि बङ्गालबाट खेले । मजहर अलीले पनि बङ्गाल क्रिकेटमा तहल्का पिटे र अहिले उनी भारत सरकारको सेन्ट्रल इक्साइजमा अफिसरका रूपमा कार्यरत छन् । अरसद बेग रेलवेमा जागिरे भएका बेला नै त्रिपुराबाट रणजी खेले । विवेक कपुर र राजश्रीले पनि त्रिपुराबाट रणजी खेले । सोम कपुर, मैनक सेन गुप्ताले बङ्गालबाट खेले ।
यी सबै फस्ट डिभिजनका उदीयमान खेलाडी थिए । यिनीहरूसँग मलाई पनि टिममा राखिएको थियो ।
सिनियर टिममा पनि मेरो राम्रो प्रदर्शन भयो । तर, आनन्द स्विट्स टिमसँग हामी हा¥यौँ । मैले २७ रन दिएर दुई विकेट लिएको थिएँ भने २० रन पनि बनाएको थिएँ । तैपनि, अल इन्डिया क्यानोपी क्रिकेट प्रतियोगितामा हाम्रो टोली सेमिफाइनल पुग्न सकेन । जुनियर टिम फाइनलमा पुगेको थियो । मेरो व्यक्तिगत प्रदर्शन सुधार भएकामा भने मैले सन्तोष मानेँ ।
भारतमा क्रिकेटको ठूलो उत्साह थियो । चर्चित खेलाडीका आ–आफ्नै टिम थिए । सौरभ गाङ्गुली बारिसा टिमबाट खेल्थे । उनी भर्खर–भर्खर अगाडि बढ्दै थिए । अरूणलाल मोहन बगान टिममा थिए । उनी टेस्ट खेलिसकेका थिए । यसै दौरान बैङ्गलोर–११ का विरुद्ध २१ रन दिएर दुई विकेट लिएको थिएँ । सन् १९८९ मा क्लबहरूमा मेरो प्रदर्शन राम्रो हुँदै गयो ।
क्रमशः

(एलबी क्षेत्री नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने पहिलो पुस्ताका खेलाडी हुन् । पहिलो एसीसी ट्रफी (मलेसिया) मा टिम उपकप्तान रहेका उनले दोस्रो एसीसी (काठमाडौं) को कप्तानी सम्हाले । भारतीय शहर कोलकाताबाट क्रिकेट शुरु गरेर ए डिभिजन खेलेका क्षेत्री नेपाल आएर क्लवस्तरीय प्रतियोगिता खेल्दै १९९८ मा राष्ट्रिय टिमको कप्तान भए । उनकै नेतृत्वमा नेपालमा महिला क्रिकेटको उदय भयो । कप्तान १९९८ पुस्तकमा क्षेत्रीले अति राजनीतिले दिशाविहीन बन्न पुगेको नेपाली क्रिकेट, आफ्नो खेल जीवनका अनुभव, संघर्ष र भोगाईलाई उतारेका छन् । क्रिकेट बुझ्न चाहनेका लागि यो पुस्तक बरदान नै सावित हुने विश्वास गरेका छौ ।
क्रियटिभ बुक्सले प्रकाशन गरेको क्षेत्रीको ‘कप्तान १९९८’ पुस्तकको सहलेखन कुमार श्रेष्ठ र सम्पादन जनक नेपालले गरेका हुन् । उक्त पुस्तकको अंश प्रस्तुत गर्ने जमर्को गरेका छौं । हरेक शनिबार क्रमशः प्रकाशन हुने पुस्तक अंश पढ्नका लागि www.sunpani.com लाई लाइक गर्नुहोला । कोहीलाई यो पुस्तक चाहिएमा क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरी (९८५१०९३२३४) लाई सम्पर्क गर्न सक्नु हुनेछ ।)


error: यो सुविधा उपलब्ध छैन !