डुडुवामा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

नेपालगञ्ज – बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा (जेष्ठ नागरिक) भत्ता वितरण शुरु गरेको छ । नयाँ आर्थिक बर्ष २०७७।०७८ को प्रथम चौमासिक अन्तर्गत साउनदेखि कार्तिकसम्मको भत्ता वितरण शुरु गरिएको हो ।
चाडपर्वलाई लक्षित गरि गाउँपालिकाको ६ वटै वडामा शुक्रबारदेखि भत्ता वितरण शुरु गरेको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले वार्ड नं. २ का जेष्ठ नागरिक बदलु शर्मालाई भत्ता वापतको रकम हस्तान्तरण गर्दै शुभारम्भ गर्नुभयो । त्यस अवसरमा बोल्दै उहाँले गाउँपालिकाले विगतदेखि नै जेष्ठ नागरिकको सम्मान गर्दै घर घरमा पुगेर रकम वितरण गर्दै आएको र अहिले चाडपर्व र कोरोना संक्रमणको महामारीका बेला उत्पन्न आर्थिक संकटको अन्त्य गर्नमा यो भत्ताले राहत दिने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष चौधरीले आंशिक अपाङ्गता भएकाहरुलाई आर्थिक सहयोग गाउँपालिकाले आफ्नै स्रोतबाट उपलब्ध गराएको भन्दै जेष्ठ नागरिकको पूर्ण रुपमा निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न लागेको जानकारी गराउनुभयो ।
गाउँपालिकाले जेष्ठ नागरिकको सम्मान गर्दै घर घरमा पुगेर भत्ता वितरण गरिरहेको छ । प्रत्येक वडामा ३ जनाका दरले ६ वटै वडामा १८ वटा टोलीमा ७० जना कर्मचारी खटेर घरदैलोमा पुगेर भत्ता वितरण गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो । उहाँका अनुसार, गाउँपालिकाको ६ वटै वडामा जेष्ठ नागरिक, बालबालिका, दलित, अपाङ्ग, एकल महिला, विधुवा गरि तीन हजार नौ सय जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ ।
७० वर्ष पुगेका जेष्ठ नागरिकलाई प्रति महिना तीन हजार, ६० वर्ष पुगेका जेष्ठ नागरिक दलित, ६० वर्ष पुगेका जेष्ठ नागरिक एकल, विधुवा आर्थिक सहायतालाई प्रति महिना दुई हजार, पूर्ण अपाङ्गता भएका व्यक्ति (क) वर्गलाई प्रतिमहिना तीन हजार, अपाङ्गता भएका व्यक्ति (ख) वर्गलाई प्रतिमहिना एक हजार छ सय, जन्मेदेखि ५ वर्ष मुनिका दलित बालबालिकालाई प्रतिमहिना चार सयका दरले रकम वितरण गरिने वडा सचिव शिवपाल मौर्यले बताउनुभयो ।
यसैगरि अपाङ्गत भएका व्यक्ति (ग) वर्गलाई प्रतिमहिना पाँच सय र (घ) वर्गलाई चार सय प्रतिमहिनाका दरले गाउँपालिकाले आफ्नै स्रोतबाट वितरण गरिरहेको छ । कोरोना संक्रमणको महामारीका बेला कर्मचारीहरुले स्वास्थ्य सुरक्षा र भौतिक दुरी कायम गरि घरदेलो अभियान अन्तर्गत रकम वितरण गरिरहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !