सदर बजारमा चौकीदारी
मेरो माइलो दाजु रत्नबहादुर शाहले एउटा सेठ (साहु) को घरमा धेरै पहिलेदेखि दिउँसो आंशिक काम गर्दै आउनु भएको रहेछ । म दिल्ली गएको करिब एक हप्तापछि दाजुले भन्नुभयो, ‘सेठानीको माइतीमा घरेलु कामदार राखिदिन कुरा गरेको छु, के भन्छौ ?’
त्यत्तिकै बस्नुभन्दा काम गर्नु नै ठिक होला भन्ने ठानेर मैले ‘हुन्छ’ भनिदिएँ ।
दाजुसँगै म पनि सेठानीको माइतीमा गएँ । मलाई कहिल्यै अरुको घरमा काम गरेको अनुभव थिएन । हिन्दी भाषा खासै बुझ्दैनथेँ । बोल्न त झन् आउँदैनथ्यो । भित्रभित्रै म डराएको थिएँ । सेठानीका अगाडि मलाई उकुसमुकुस भइरहेको थियो । तैपनि, खाली बस्नुभन्दा भाँडा माँझ्ने र घर सरसफाइ गर्ने काम पाए गर्न सक्छु भन्ने लागेको थियो ।
सेठानीले दाजुसँग मेराबारेमा कुरा गरिन् । मैले एसएलसी (म्याट्रिक) पास गरेको भन्ने कुरा पनि दाजुले सेठानीलाई भन्नुभयो । सेठानीले मलाई केही प्रश्न पनि सोधेकी थिइन् ।
‘तुम्हारा क्या नाम है बहादुर ?’
‘लोक बहादुर’
‘नाम तो अच्छा हैं लेकिन मकानमे काम करोगे ?’
‘हाँ जी’
यति सम्वाद भएपछि सेठानीले दाजुसँग हिन्दीभाषामा केही कुरा गरिन् । म कलिलै देखिन्थेँ । सायद उनले मप्रति दया देखाइन् । मलाई घरमा काममा लगाउनुको साटो केही सीपमूलक काम सिकाउ, पढेलेखेको पनि रहेछ भनिन् । खै किन हो, उनले मलाई घरमा काममा लगाउन इन्कार गरिन् ।
सेठानीको माइतीमा काम पाइएला भन्ने आशा थियो । त्यो पूरा भएन । काम नपाएपछि दाजु र मलाई चिन्ता लागेको थियो । दाजुहरू साथै भएकाले मलाई खान र बस्न कुनै समस्या थिएन । कहिलेकाहीँ दाजुहरूसँग काममा र छुट्टीका बेला घुम्न गई दिन बिताउँथँे । मेरा लागि पसलमा काम खोजी भइरहेको थियो । तर, कहीँकतै पाइएको थिएन ।
मेरा दुवै दाजु सदर बजारमा राति चौकीदारी (वाचमेन) को काम गर्नु हुन्थ्यो । अरु गाउँले पनि कोही चौकीदारीको रूपमा त कोही पसलमा काम गर्थे । निश्चित इलाकाभित्रको बजारका साहुहरूले मासिक रूपमा केही पारिश्रमिक दिएर रातभरि घर पसलको रेखदेख र सुरक्षाका लागि चौकीदार राख्ने प्रचलन रहेछ । सोही बमोजिमको काम गर्नका लागि प्रायः नेपाली चौकीदारको नोकरी गर्दा रहेछन् । चौकीदारले रातभर तोकिएको इलाकामा ड्युटी दिनु पर्दोरहेछ । चौकीदारले हातमा बाँसको डन्डा समाती रातभर सडकमा टक–टक आवाज सुनाउनु पर्दोरहेछ । म पनि दाजुसँग कैयौँ दिन चौकीदारी गर्न गएको थिएँ । बजारमा चोरी भयो वा कुनै हानि नोक्सानी भयो भने साहुले पारिश्रमिक पनि नदिने बरु उल्टै गालीगलौज र कुटपिटसमेत गर्दा रहेछन् । त्यसो हुँदा चौकीदार हटाउने र अपमानजनक व्यवहार गरेको पनि मैले आफ्नै आँखाले देखे ।
चौकीदारको कामको मूल्याङ्कन गर्ने तौरतरिका पनि अचम्मको रहेछ । साहुले घर पसल बन्द गरिसकेपछि उसको घर पसल चेकजाँच गरी चौकीदारले लागेको ताला फर्काउनु पर्दोरहेछ । जसबाट चौकीदार राति बजारमा ड्युटीमा थियो भन्ने कुरा प्रमाणित हुन्थ्यो । आफूले चौकीदारका रूपमा काम गर्ने बजार अर्को चौकीदारलाई केही निश्चित रकम लिएर बिक्री गर्ने चलन पनि रहेछ ।
चौकीदारी गरेबापत कसले कति पारिश्रमिक दिने भन्ने कुरा पहिल्यै तय हुन्थ्यो । महिना पुगेपछि साँझ–साँझ चौकीदार साहुको घर वा पसलमा गई पारिश्रमिक माग्थे । पारिश्रमिक माग्दा समेत कसैले कल आना, कसैले पर्सौं आना भनी आलटाल गर्दा रहेछन् । यसरी रातभर अर्काको घर पसलको सुरक्षाको काम गर्दा समेत समयमा पारिश्रमिक र सम्मान पाइँदो रहेनछ । चौकीदारीको पारिश्रमिक पाएपछि भने राम्रै खानपिन गर्दा रहेछन् । मदिरा र मासुले खुसीको मापन गर्दथ्यो ।
मेरो बुबाले पनि भारतको मुम्बई तथा दिल्लीमा समेत लामो समयसम्म चौकीदारी गर्नुभएको थियो । पछि दुवै दाजुहरू पनि दिल्लीमा गई चौकीदारी गर्न लाग्नुभयो । अहिले पनि दाजु मौसमी रूपमा भारतमा गई चौकीदारी गर्दै आउनु भएको छ । हाम्रो गाउँका अधिकांश पुरुषको वैदेशिक रोजगारी भनेकै भारतमा जाने र चौकीदारी गर्नु बनेको छ ।
आफ्नै गाउँठाउँमा कुनै रोजगारीका अवसर भएको भए देशै छाडेर विदेशिने रहर कसलाई पो हुन्थ्यो होला र ? मूलतः सुदूरपश्चिम पहाडका अधिकांश बासिन्दा अहिले पनि भारतमा गई चौकीदारी लगायतका पेसा व्यवसायमा संलग्न छन् । खुला सिमाना, भाषागत रूपमा खासै समस्या नपर्ने र पहिलेदेखि जाउआउ रहेकाले पनि नेपालीहरू भारतको नोकरीलाई सहज रूपमा लिन्छन् । दिल्ली, मुम्बई र उत्तराखण्डका श्रम बजारमा नेपालको एउटा छुट्टै ब्रान्ड बनेको छ, इमानदार कामदार । भरपर्दो चौकीदार ।
(अधिवक्ता लोकबहादुर शाहद्वारा लिखित ‘चौकीदारदेखि वकिलसम्म’ नामक पुस्तकबाट यो अंश निकालिएको हो । पत्रकार जनक नेपाल र कुमार श्रेष्ठले सम्पादन गरेको पुस्तक क्रियटिभ बुक्सको प्रकाशनमा असोज २९ गते विमोचन हुँदैछ ।)