कोही फर्किदै, कोही दशैंको मुखैमा भारततिर जादै

नेपालगञ्ज – नेपालगञ्ज नाकामा यतिबेला दशैं मान्न घर फर्किने र रोजगारीका लागि भारत जाने नेपालीको चाप बढेको छ ।
भारत सरकारले लकडाउन शुरु गरेसँगै घर फर्किएका नेपालीहरु यतिबेला रोजगारीका लागि भारत गइरहेका छन् । कोरोना कहरलाई थेगेर बसेका नेपालीहरु यतिबेला दशैं मान्न घर फर्किरहेका हुन् ।
नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज विष्णु गिरीले दशैं मान्न घर फर्किने नेपालीको संख्या बढेको जानकारी दिनुभयो । उहाँका अनुसार, यतिबेला दैनिक ७-८ सय मानिस दशैं मान्न घर फर्किरहेका छन् । यो चाप दिन प्रति दिन बढ्दो रहेको छ ।
नाकामा फर्किने मात्रै होइन, भारत जानेको पनि उस्तै चाप रहेको छ । कोरोना कहरका बीचमा घर आएका नेपालीहरु खर्च धान्न नसकेपछि दशैंको मुखमा रोजगारीका लागि भारततर्फ गइरहेका छन् । इन्चार्ज गिरीले भन्नुभयो, ‘दैनिक ७-८ सय जना घर फर्किरहदा दुई सय ढाई सय जना भारततर्फ गइरहेका छन् ।’
कोरोना कहर नहुँदो हो त यतिबेला नेपालगञ्ज नाकाबाट थेगिनसक्नु भीड लगाएर नेपालीहरु घर फर्किएका हुन्थे । कोरोनाले गर्दा धेरैजसो ज्यान बचाउन चैत्र, बैशाख, जेठ, असार, साउनमा घर फर्किएका थिए । यतिबेला घर फर्किएकाहरु अहिले भारततिर गइरहेका छन् । कोरोनाको महामारीका बीचमा भारतमै रहेका नेपालीहरु अहिले दशैं मान्न घर फर्किरहेका छन् ।
यसैबीच, बाँके प्रहरीले जमुनाहा नाकामा चाडबाडलाई लक्षित गरेर सहायता कक्ष स्थापना गरेको छ । चाडकाडको भीडमा हुन सक्ने अपराधिक गतिविधिलाई रोक्न प्रहरीले वर्षेनी नाकामा सहायता कक्ष राख्ने गर्दछ । यस्तो सहायता कक्ष बसपार्कमा पनि रहने गर्दछ ।


error: यो सुविधा उपलब्ध छैन !