पाँच मिनेटको फरकमा दुईको मृत्यु
नेपालगञ्ज – कोरोनाबाट नेपालगञ्जमा दुई जनाको मृत्यु भएको छ ।
भेरी अस्पताल, नेपालगञ्जमा नेपालगञ्ज र कोहलपुरका संक्रमितको गएराती मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, नेपालगञ्ज–१०, ट्राफिकचोक निवासी ८४ वर्षीय पुरुष र कोहलपुर–८, गोल्छाका ७१ वर्षीया महिलाको मृत्यु भएको छ ।
नेपालगञ्जका ८४ वर्षीय पुरुष असोज ६ गते अस्पतालमा पुगेका थिए । श्वासप्रश्वासमा समस्या रहेका बृद्धको असोज २४ गते राती ९.५५ बजे मृत्यु भएको थियो ।
नेपालगञ्जका बृद्धको मृत्यु भएको पाँच मिनेटपछि कोहलपुरका ७१ वर्षीया बृद्धाको मृत्यु भएको छ । असोज १४ गते अस्पतालमा पुगेकी बृद्धाको त्यही दिन साँझ कोरोना पोजिटिभ रिपोर्ट आएको थियो ।
श्वासप्रश्वासमा समस्या रहेकी बृद्धाको गएराती दश बजे मृत्यु भएको छ ।
फोकलपर्सन श्रेष्ठले जिल्लामा अहिलेसम्म कोरोनाबाट २६ जनाको मृत्यु भइसकेको जानकारी दिनुभयो ।