पहिलो बहस गर्दा थर्ररर…
वि.सं. २०५५ को कुरा हो, एकदिन बिहान ११ बजेतिर कोट लगाएर मिसिल नक्कल लिन म बाँके जिल्ला अदालत जाँदै थिएँ । अदालतको मूलगेट अगाडि दुई-तीन जना मधेसी समुदायका महिला र एक पुरुषले मलाई रोके र प्रश्न गरे, ‘आप वकिल सा‘ब हे ?’
‘हाँ, मै वकिल हुँ !’
‘यहाँ और वकिल नही है ।’
‘बहुत है, लगभग तीन सौ ।’
‘हम सुवह से वकिलको ढुँड रहे हेँ । लेकिन एक भी वकिल नही मिले ।’
‘सब अपने–अपने अफिस मे होंगे । कुछ देर मे कोर्टमे भी आएगें ।’
‘अच्छा…..!’
‘हाँ, आप वकिलको क्यु ढुँड रहे हैं ?’
‘हम भारतीय नागरिक हैं । यहाँ किसी वकिलको नही जानते हैं । हमारा दो लडकेको झूट्टा चोरी मुद्दा बनाकर पुलिस ने फसादिया । इसिलिए लडकेको जैसे भी निकलवाना है,’ उनीहरूले भने ।
‘कितना दिन हुआ ?’
‘लगभग २० दिन ।’
‘आप हमारे लडकाका केस बहस पैरवी कर पाएगें ?’
मलाई मुद्दाबारे खासै जानकारी थिएन । मुद्दा हेर्न सक्दिन भनौँ भने कालो कोट लगाएको छु । अनि, आफू वकिल भएको पनि भनिसकेँ । अब के भनौँ भन्ने दोसाँधमा परेँ । पछि सोचेँ, मैले नसके पनि ल फर्ममा लगेर अग्रज कानुन व्यवसायीमार्फत बहस पैरवी गराउनु उचित होला । त्यही सम्झेर ‘सक्छु भन्ने जवाफ दिनुपर्छ’ मनमनै निर्णय लिएँ ।
‘हाँ मै आपके केस हैन्डिल कर सकता हुँ । हमारे ल फर्ममे और सिनियर वकिल भी हैं । उनके भी सहयोग लेना पडेगा ।’
‘ठिक हैं, लेकिन लडके लोग छुट्जाएँगे न ?’
‘प्रयास करेगें !’
‘ठिक हैं, पैसाका चिन्ता नकिजिए । पुलिस, सरकारी वकिल, जजलगायत जिसको मिलाना है मिलाइए । लेकिन हमारे लडके लोग जैसे भी छुट्जाना चाहिए,’ उनीहरूले भने ।
‘ठिक है । इस विषयमे सिनियर वकिल से भी बात करना पडेका,’ मैले भनेँ ।
झन्डै एक वर्ष दिल्ली बसेकाले सामान्य हिन्दी बोल्न र बुझ्न सक्थेँ । ती भारतीयसँग खुलेर त्यति कुरा गर्न सकेँ । उनीहरू भारत बहराईचका बासिन्दा रहेछन् । उनीहरूलाई ल फर्ममा लिएर गएँ । पन्त सरसँग भेट गराएँ । उहाँले मुद्दाका बारेमा सोधपुछ गर्नुभयो । मुद्दामा बहस पैरवी गरेबापतको शुल्कबारे पनि कुरा भयो । केही भारु पेस्की पनि छाडेका थिए । तीन÷चार दिनभित्र मुद्दा अदालतमा आउँछ, सम्पर्कमा रहनुहोला भनेर पन्त सरले उनीहरूलाई पठाउनुभयो । उनीहरू गइसकेपछि पन्त सरले सोध्नुभयो, ‘यिनीहरूलाई कहाँ भेटायौँ बाबु ?’ उहाँले स्नेहपूर्वक कहिलेकाहीँ बाबु भन्नुहुन्थ्यो ।
मैले इतिवृत्तान्त सुनाएँ । मुसुक्क हाँस्दै भन्नुभयो, राम्रै ग¥यौ ! तिमीले ल्याएको मुद्दा हो, तिमी नै बहस गर्नुपर्छ है ?
मैले आँट गरेर भनेँ, ‘हुन्छ सर ।’
मलाई पाँच सय भारु पनि दिनुभयो ।
मुद्दाबापतको मैले पाएको पहिलो पारिश्रमिक नै त्यही थियो, आठ सय रुपैयाँ । मुद्दाका पक्ष मेरो सम्पर्कमा आएकाले मैले पारिश्रमिक पाएको थिएँ । मैले आफैँ खोजेर त्यो मुद्दा पाएको होइन । संयोगवश पाएको थिएँ । कालो कोट लगाएकाले उनीहरू मेरो सम्पर्कमा आएका थिए । मभन्दा पहिले कालो कोट लगाएको अर्को वकिल अदालत पुगेको भए मुद्दा उसैले पाउँथ्यो होला ।
वकिलले मुद्दा पाउन पनि सजिलो रहेनछ । या त अनुभवी र विश्वासिलो वकिलको परिचय स्थापित हुनुपथ्र्यो वा विभिन्न संस्था, राजनीतिक पार्टी वा निकायसँगको जनसम्पर्कले मुद्दा आउँदो रहेछ । मुद्दा पाउनका लागि पनि वकिलहरूले छुट्टै सिन्डिकेट र सेटिङ गर्ने गरेको आरोप कानुन व्यवसायी वृत्तमा चल्दै आएको थियो ।
कुनै पनि व्यक्तिलाई प्रहरीले पक्राउ गरेको मितिदेखि नै कानुन व्यवसायी राख्न पाउने, कानुन व्यवसायीसँग परामर्श गर्न पाउने संवैधानिक र कानुनी अधिकार छ । कानुन व्यवसायी रोज्न पाउने पनि पक्षको अधिकारभित्रै पर्छ । पक्ष र कानुन व्यवसायीका बीचमा गोप्य रूपमा मुद्दाको विषयमा कुराकानी पनि हुन्छ । अधिकांश पक्षहरूले सत्यतथ्य कुरा कानुन व्यवसायीलाई पनि भन्दैनन् । प्रमाणबाट दोषी देखिएका पक्षहरूले पनि आफू निर्दोष रहेको, आफूलाई फसाइएको, आफू घटना वारदातमा संलग्न नरहेको भनी इन्कारी बयान दिन्छन् । यसरी पक्ष स्वयंले सत्यतथ्य कुरा आफ्नो वकिललाई नभनेका कारण पक्षलाई न्याय दिलाउन र न्यायको नजिक पुग्न कठिनाइ हुने गरेको छ । त्यति मात्र होइन, मुद्दाका पक्ष एवं आफन्तले साम, दाम, दण्ड भेद वा अन्य के कुन नीति अवलम्वन गरेर हुन्छ, आफूलाई कुनै पनि हालतमा छुटाउनुपर्छ, पैसा जति लागे पनि खर्च गर्न तयार छु भन्ने गर्छन् । मुद्दा हराउने–जिताउने नाममा बिचौलियाले कयौँका घरखेत लिलाम गराएका उदाहरण पनि छन् । यस प्रकारको सोच, दृष्टिकोण र व्यवहारबाट न्यायलाई कतै खरिद–बिक्रीको साधन त बनाइएको छैन भन्ने गम्भीर प्रश्न भने उब्जिने गरेको छ ।
दुई जना भारतीय नागरिक लव र कुशलाई चोरीको आरोपमा पक्राउ गरिएको थियो । सामान किन्ने बहानामा पसलमा गई एक जनाले सामान हेर्ने भन्दै साहुलाई एकातर्फ भुलाएको र अर्कोले पैसा राख्ने तिजौरीबाट चोरी गरेको भन्ने आरोप थियो । मुद्दाको अनुसन्धान पूरा भएपछि सरकारी वकिलले अदालतमा अभियोगपत्र (दाबी) दर्ता गर्छन् । अभियोगपत्र दर्ता भइसकेपछि मात्रै उक्त मुद्दाको नक्कल लिन पाइन्छ । सो मुद्दाको अभियोगपत्र दर्ता भयो । मुद्दाको नक्कल लिने जिम्मेवारी मैले नै पाएँ ।
मुद्दाको मिसिल प्राप्त भयो । पन्त सरले भन्नुभयो, ‘लोकबहादुर, यो फाइल साथमा लिएर जाऊ, भोलि बहस गर्नुपर्छ, तयारी गरेर आउनू ।’ म फाइल बोकेर कोठामा आएँ । फाइल कसरी पढ्ने ? कताबाट बहस सुरु गर्ने ? बहसमा के–के कुरा राख्ने भन्ने ठूलो अन्योल कायमै थियो । पहिलोपटक बहस गर्ने मौका पाउँदै थिएँ । त्यो मेरा लागि अवसर र चुनौती दुवै थियो । भोलि बहस कसरी सुरु गर्ने ? न्यायाधीशका अगाडि कसरी उभिने ? कुनै प्रश्न सोधियो भने के जवाफ दिने ? यस्तै यस्तै प्रश्नले मलाई छटपटी भएको थियो । राति अबेरसम्म निन्द्रा पनि लागेन । राति सपनामा पनि न्यायाधीशको सामुन्ने बहस गरेको देखेँ । ब्यूझिँदा ओछ्यानमै झल्यास्स भएँ । बिहान उठेर पनि सोही फाइल पुनः अध्ययन गरेँ र केही तथ्यहरू टिपोट गरेँ ।
घर, स्कुल र क्याम्पस पढ्दासमेत म अलि कम बोल्ने र लजालु स्वभावको थिएँ । अध्ययनका क्रममा नेपालगन्ज आएपछि भने साथीहरूसँग बोलचाल र हिँड्डुल गर्न सिकेको थिएँ । कक्षाकोठामा अध्यापन भइरहेका बेला शिक्षकसँग प्रश्न गर्न सक्ने, भाषण गर्न सक्ने आँट र साहस भने ममा थिएन ।
कक्षामा आफूलाई लागेको जिज्ञासा सोधौँ–सोधौँ जस्तो लाग्थ्यो । उठेर प्रश्न सोध्न नसकेर रातोपिरो हुन्थँे । प्रश्न सोध्न खोज्दा मुटुको धड्कन बढ्थ्यो, हातखुट्टा काँप्थे र अनुहार रातोपिरो हुन्थ्यो । अब सोध्छु भन्दै आँट बटुल्दैमा कक्षा सकिन्थ्यो । अध्यापक बाहिरिएपछि किन प्रश्न गरिएन होला भनेर पछुताउँथेँ ।
शिक्षकले मलाई कुनै प्रश्न नगरुन् भनेरै कक्षाकोठाको अलि पछाडिपट्टि बस्न रुचाउँथेँ । महेन्द्र बहुमुखी क्याम्पसमा जगतबहादुर भण्डारी सरले संवैधानिक कानुन पढाउनु हुन्थ्यो । अध्यापनका क्रममा मैले कुनै प्रश्न गर्न चाहेको थिएँ । तर, उठेर सोध्न सकिरहेको थिइनँ । मेरो अनुहार हेरेरै भण्डारी सरले अनुमान गर्नुभएछ र सोध्नुभयो, ‘लोकबहादुर ! केही जिज्ञासा राख्न खोजेको हो ? उठ त !’
मैले लजाउँदै होइन सर भनेँ ।
‘किन लाज मानेको ? नडराई सोध न !’ मैले होइन सर भनिरहेँ । साथीहरू गलल्ल हाँसे । मेरो झन् सातो गयो । भण्डारी सरले थप्नुभयो, ‘कानुन पढ्ने अनि कक्षामा प्रश्न गर्न पनि डराउने ? कसरी वकिल वन्न सक्छौ ? न्यायाधीशको अगाडि कसरी वकालत गर्छौ ?’
मैले मधुरो स्वरमा भनेँ, ‘म प्रयास गर्नेछु सर ।’
म ल फर्ममा प्रवेश गरेपछि मिसिलको नक्कल सार्न अदालतमा गइरहनु पथ्र्यो । त्यहाँ विभिन्न मुद्दामा बहस भइरहेका हुन्थे । मुद्दाको प्रकृति हेरी कहिलेकाहीँ बहसका क्रममा पनि ठूलै भीडभाड हुने गरेको थियो । बिस्तारै म देवानी प्रकृतिका मुद्दामा विभन्न व्यक्तिका तर्फबाट वारेस पनि बस्ने गरेको थिएँ । महिना÷महिनामा अदालतले तोकेको मितिमा सम्बन्धित फाँटमा गई तारेख लिनुपथ्र्यो । त्यसबापत प्रति तारेख पक्षले मलाई २०÷२५ रुपैयाँ दिन्थे । मैले तारेख लिने छुट्टै डायरी बनाएको थिएँ । तारेख लिनका लागि पनि म नियमित रूपमा अदालतमा गइरहन्थँे । पन्त सर र अन्य अग्रज कानुन व्यवसायी कुनै मुद्दामा बहस गर्न जाँदा उक्त मुद्दाको फाइल बोकेर मैले नै अदालतको सम्बन्धित बेन्चमा पु¥याइदिन्थेँ । इजलासको पछाडिपट्टि बेन्चमा बसेर बहस सुन्थेँ । कतिपय कानुन व्यवसायीका बहस तार्किक हुन्थे, सुनिरहुँजस्तो लाग्थ्यो । न्यायाधीशले प्रश्न गर्थे, कानुन व्यवसायीले तत्कालै जवाफ फर्काउँथे । एक पक्षका कानुन व्यवसायीले राखेको तर्क अर्को पक्षका व्यवसायीले विवेकपूर्ण ढङ्गबाट खण्डन गर्थे । यसरी यति छिटो कसरी सवालजवाफ गर्दा हुन् जस्तो लाग्थ्यो ।
चोरी मुद्दाका प्रतिवादीको बयान सकियो । थुनछेक बहसका लागि न्यायाधीशले सरकारी वकिललाई अर्दली (कार्यालय सहयोगी) मार्फत बोलाउन पठाए । सरकारवादी मुद्दामा पहिले सरकारी वकिलले र त्यसपछि मात्रै प्रतिवादी
(अभियुक्त) का कानुन व्यवसायीले खण्डन बहस गर्नुपर्ने हुन्छ । प्रतिवादीका तर्फबाट एकभन्दा बढी कानुन व्यवसायी भए सामान्यतया पहिले नवोदितले त्यसपछि क्रमशः अग्रजले बहस गर्ने गर्छन् ।
वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिलले जोडदार बहस गरे । यी प्रतिवादी भारतीय नागरिक भएका र तिनले चोरीजस्तो गम्भीर कसूर गरेको स–प्रमाण तथ्यगत रूपमा पुष्टि भएको भनी दाबीलाई पुस्ट्याइँ गर्ने गरी बहस गरे । सरकारी वकिलको बहस सकिएपछि नवोदित भएकाले मैले नै पहिले बहस गर्नुपर्ने भनिएको थियो । बहस कसरी सुरु गर्ने ? के–केमा दाबी गर्ने भन्ने विषयमा मनमनै सोचिरहेको थिएँ । जतिजति बहसको समय नजिकिँदै थियो, त्यति नै धड्कन बढिरहेको थियो । हात काँपिरहेका थिए । मेरो पालो आएपछि मुद्दाको फाइल समातेर उठेर बहस सुरु गरेँ ।
‘श्रीमान् मेरो पक्ष निर्दोष हुन् ….,’ मैले बोल्न सुरु गर्ने बित्तिकै न्यायाधीशले नयाँ भन्ने थाहा पाउनु भएछ क्यारे ! सोध्नुभयोे, ‘के नाम हो विद्वान् ?’
‘मेरो नाम लोकबहादुर शाह हो श्रीमान् ।’
‘कति वर्ष भयो, बहस गर्न सुरु गरेको ?’
‘आज यो मेरो पहिलो बहस हो श्रीमान् ।’
‘ए, कोसँग बस्नु हुन्छ ?
डिल्लीराज पन्त सरलाई देखाउँदै, ‘उहाँसँगै बस्छु श्रीमान् ।’
‘ल बहस सुरु गर्नुहोस् ।’
‘हस् श्रीमान् !’ भनेर मैले बहस सुरु गरेँ ।
‘मेरो पक्ष निर्दोष हुन् श्रीमान् । भारतबाट नेपालमा आएर कसरी चोरी गर्न सक्छन् श्रीमान् ? मेरो पक्षलाई तत्कालै छोडिदिनुपर्छ श्रीमान् । मेरो पक्षलाई सफाइ दिने गरी फैसला गर्नुपर्छ श्रीमान् ।’
‘थुनछेक बहसमा आजै फैसला गर्न मिल्छ विद्वान ?’ न्यायाधीशले प्रश्न गर्नुभयो । म अकमकिएँ । जवाफ दिन नसकेर पन्त सरतर्फ पुलुक्क हेरेँ । उहाँले बहस टुंग्याऊ भन्नुभयो । अनि, मैले बहस सकेँ ।
अब अर्कोपटक राम्ररी अध्ययन गरेर आउनु भनी श्रीमान्ले सुझाव दिनुभयो । पन्त सरले पनि ‘ल तिमीले राम्रो बहस ग¥यौ, बहस गर्दा आत्तिनु हुँदैन’ भनेर हौसला दिनुभयो । मेरो बहस सकिएपछि पन्त सरले बहस सुरु गर्नुभयो । प्रतिवादी भारतीय नागरिक भए पनि चोरी गरेको कुरा प्रमाणित नभएको र प्रतिवादीहरू नाबालकसमेत भएकाले निजहरूलाई थुनामा राख्न मिल्दैन । अभिभावकको जिम्मा लगाई पाउँ भनी पन्त सरले प्रतिवादीका तर्फबाट लामो र तर्कपूर्ण बहस गर्नुभयो । बहस गरेको करिब दुई घन्टापछि उक्त मुद्दामा न्यायाधीशबाट के आदेश भयो भनी मलाई फाँटमा सोध्न पठाउनु भयो । म सम्बन्धित फाँटमा गएर आदेशका बारेमा जानकारी लिदाँ दुवै जना प्रतिवादीहरू नाबालक भएकाले निजहरूलाई अभिभावको जिम्मा लगाउने आदेश भएको थाहा पाएँ । खुसी हुँदै आएर पन्त सरलाई बताएँ । अदालती प्रक्रिया पूरा गरी दुवै जना प्रतिवादीलाई अभिभावको जिम्मा लगाइयो । प्रतिवादी थुनामा पनि गएनन् र धरौटी पनि राख्न नपरेका कारण प्रतिवादीका अभिभावक खुसी भए । उनीहरूले छेउमा बोलाएर मलाई नास्ता खानु भन्दै पाँच सय भारु दिएका थिए ।
पूर्वतयारी, अभ्यास र ज्ञानको अभावमा थुनछेक बहसमा पक्षको तर्फबाट राख्नुपर्ने आवश्यक आधार र तर्क राख्न सकिनँ । तर, पहिलोपटक न्यायाधीशका अगाडि उभिएर बहस गर्ने मौका पाएकामा असाध्यै खुसी लाग्यो । एउटा ठूलो उपलब्धि हासिल भएको महसुस गरेँ । बहस पनि दोहोरो वार्ता र सम्वादझैँ लाग्यो । थुनछेकको बहसमा प्रतिवादीलाई तारेखमा छोड्ने वा धरौटी जमानतमा छोड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने विषयमा नै केन्द्रित रहेर बहस गर्नुपथ्र्यो । थुनछेक आदेश भनेको फैसला हुनुपूर्वको प्रारम्भिक अन्तरकालीन आदेश रहेछ । मुद्दाको सम्पूर्ण तथ्य, सोसँग सम्बन्धित कानुन र पक्षको तर्फबाट माग गर्नुपर्ने विषयवस्तुका बारेमा गहन अध्ययन गरेर मात्र बहसमा उपस्थित हुनुपर्दो रहेछ भन्ने पाठ मलाई पहिलो बहसले सिकायो ।
(अधिवक्ता लोकबहादुर शाहको ‘चौकीदारदेखि वकिलसम्म’ नामक पुस्तकको केही अंश । पत्रकार जनक नेपाल र कुमार श्रेष्ठले सम्पादन गरेको पुस्तक केही दिनमै क्रियटिभ बुक्सले बजारमा ल्याउँदैछ ।)