किन पछाडी परेछ ‘भेरी अस्पताल’ ?

नेपालगञ्ज – नेपालगञ्जको भेरी अस्पतालको स्थापना वि.सं. १९४७ मा भयो, पृथ्वी वीर अस्पताल डिस्सेन्सरीको नामबाट । वि.सं. २०१६ मा यसलाई रत्न राज्य लक्ष्मी देवी प्रसति गृह नामाकरण गरियो । २०२२ सालमा भेरी अञ्चल अस्पताल नामाकरण गर्दै ५० शैयाको स्वीकृत भयो ।
२०४२ सालमा कृष्णगोपाल टण्डनको अध्यक्षतामा भेरी अञ्चल अस्पताल विकास समिति गठन भएको थियो । २०४३ सालमा भेरी सय शैयाको अस्पताल बन्यो । इतिहास हेर्दा २०४२ सालमा ५० शैयाको स्वीकृत भएको अस्पताल हालसम्म एक सय ५० शैया भन्दा माथि बढेको छैन । यो बीचमा धेरै व्यवस्थाहरु परिवर्तन भए, भेरी अस्पताल भने मन्द गतिमा अघि बढिरह्यो । नेपाल सरकारको ०७६÷७७ को नीति तथा कार्यक्रममा भेरीलाई विशिष्टिकृत सेवा प्रदान गर्ने घोषणासँगै पाँच सय शैया क्षमताको अस्पताल बनाउने भनिएको छ ।
वीर अस्पताल सँगसँगैको भेरी अस्पताल किन यति पछाडी परिरह्यो ? राज्यका उच्च पदमा पुगेका यस क्षेत्रका व्यक्तित्वहरुले कहिल्यै सोच्ने फुर्सद निकालेनन् । एक सय ३० वर्षे इतिहासमा भेरीको हुनुपर्ने जति विकास हुन सकेन । तत्कालिन मध्य र सुदूरपश्चिमको रिफरल सेन्टर बनेको हामी मख्ख पर्दै बसिरह्यौ । अन्यत्रका क्षेत्रीय अस्पतालबाट यो अञ्चल अस्पतालमा बिरामी हुन्छन् भनेर छाती चौडा गरिरह्यौ । वीर अस्पताल सँगसँगै स्थापना भएको भेरीलाइै त्यही हाराहारीको बनाउनतिर कोही लागेनौ ।
अस्पताल विकास समितिमा आइपुग्ने फरक–फरक व्यक्तित्वहरुले भेरीको स्तर उन्नतिमा चासो राख्ने गरेको देखिन्छ । तर, उनीहरुको नियुक्तिको समय काम भन्दा चर्चा परिचर्चा गर्दैमा सिधिन्छ । आफू संलग्न छैन भने सामाजिक कार्यमा अगुवाई गर्ने नेताहरु भेटिदैनन् । भेरीको इतिहास अनुसारको स्तर उन्नति नभएको कुरा अस्पताल विकास समितिको तीन÷चार वर्षे व्यवस्थापन समितिको पदाधिकारीले मात्रै गर्ने भन्ने होइन । यहाँबाट हुने माननीय, मन्त्रीदेखि पार्टीहरुले संयुक्त रुपमा केन्द्रमा लबिङ गर्नुपर्ने थियो, यो उदारता कसैबाट भएको पाइएको छैन । अहिलेका व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धिताल भेरीको स्तर उन्नतिमा केही न केही गर्ने अठोटका लागि लाग्नु भएको छ, कति परिवर्तन हुन्छ हेर्न बाँकी नै छ ।
पुरानो शहरको यो पुरानो अस्पतालका लागि राजनीति गर्न छोडेर सबै पार्टीले एकपटक एकै ठाउँमा उभिने हो कि ? राजनीति गर्छु, समाजसेवा गर्छु भनेर लागेका व्यक्तित्वहरुले कम्तीमा भेरीका बारेमा एकपटक सोच्ने कि ? अहिले एकैपटकमा परिवर्तन गर्छौ भन्ने होइन, शुरुवातमा दरबन्दी अनुसार कर्मचारी ल्याउन पहल गर्दा हुन्छ । मेसु डा. प्रकाश थापा विरामी जाँच गर्न वार्डहरुमा जादा छत खसेर मरिन्छ कि भन्ने डर लाग्छ भन्नुहुन्छ । यसबारेमा सोच्ने कि ?
भेरीको स्तर उन्नति र भविष्यका लागि राम्रो गराउन अहिले नै जग्गाहरु छुट्याउनु पर्ने देखिन्छ । भौतिक संरचनाहरु बढाउनु पर्छ नै । त्यसका लागि जग्गा त चाहिन्छ । दीर्घकालिन सोच बनाएर योजनाबद्ध तरिकाले अघि बढ्न सकेमा भेरीको स्तर उन्नति हुन सक्नेमा आशावादी हुन सकिन्छ ।


error: यो सुविधा उपलब्ध छैन !